Erani Mahal
निस्दीको अर्चलेमा विविध कार्यक्रमका साथ मगर दिवस मनाइयो
ni

पाल्पा -निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा बिबिध कार्यक्रमका साथ ३८ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ ।

नेपाल मगर संघ निस्दी-६,अर्चले,पाल्पाको आयोजना र निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

संघका अध्यक्ष कृष्ण बहादुर सुनारी मगरको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी मगर रहनुभएको हो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सुनारी मगरले मगरहरुले आफ्नो फजुल खर्चलाई बचत गरेर संस्कृति जोगाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

उहाँले अगाडि भन्नुभयो निस्दीमा करीब ८७ प्रतिशत मगर समुदायको बसोबास रहेको र यो साल देखि फागुन १५ गतेलाई राष्ट्रिय मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

कार्यक्रम गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य कृष्ण बहादुर सोमै,वडा सचिब सावित्रा गैरे,अर्चले स्वास्थ्य चौकी प्रमुख मिन बहादुर राना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा निस्दी गाउँपालिका अर्चलेका विभिन्न टोलका आमा समूहहरुले मगर संस्कृति संग सम्बन्धित नाचरी,झ्याउरे र सालैजो गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सो अबसरमा नमुना स्वास्थ्य आमा समूहले मगरी परिकारहरु समेत उपलब्ध गराएको थियो ।

संघका सदस्य पुष्पा सारुको स्वागत बाट शुरु भएको कार्यक्रमको संचालन होम राई मगर र लिमीसरा रानाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update