Erani Mahal
पाल्पामा विविध कार्यक्रम सहित मनाइयाे ३८ औँ मगर दिवस
88101703_10222017571488852_857743344543989760_o

पाल्पा – ३८ औँ मगर दिवस पाल्पामा विविध कार्यक्रम सहित भव्य रुपमा मनाइएको छ । जिल्लाको विभिन्न गाउँ, टोल तथा बस्तीमा ३८ औँ मगर दिवस मनाइएको छ । दिवसमा पहिचान झल्किने नाच, गीत तथा संस्कृतिक कार्यक्रम गरिएको थियो । रिब्दीकाेट, तिनाउ, रैनादेवी छहरा, पूर्वखाेला, ताहुँ, चिलाङ्दी, निस्दी, रामपुर लगायतका क्षेत्रमा विविध कार्यक्रम भएका छन् ।

मगर दिवसकाे अवसरमा पाल्पाकाे रामपुर नगरपालिका, पूर्वखाेला गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र सम्भा गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए ।

मगर दिवसकाे अवसरमा निस्दीमा प्रस्तुत भएकाे सांस्कृतिक कार्यक्रमकाे झलक । तस्विर : धनबहादुर ठाडा ।

पाल्पाको सराई मगर समाजको आयोजनामा ३८ औं मगर दिवस मनाइएको छ । मगर संघ स्थापना भएको दिन पारेर सराईमा झाँकी र्याली, मगरी खानाका परिकारहरु, औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा, विशिष्ट अतिथि नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीमगर, वडा अध्यक्ष दिपक थापा लगायतले शुभकामना मनतव्य दिनुभएको थियो । उहाँहरुले मगर एकता दिवसले मगर समुदायको एकता, भातृत्व र सांस्कृतिक तथा भाषिक जर्गेनामा सहयोग पुग्ने विस्वास गर्नुभयो ।

सराइ मगर समाजले गरेकाे कार्यक्रममा सहभागी अतिथिहरू । तस्विर : तेज घर्तीमगरकाे फेसबुकबाट ।

यस्तै कौडे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर घर्तीमगर, युके मगर संघको सचिव, मगर महिला संघका अध्यक्ष थानीमाया सिंजाली, माथागढी गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष मधु पराजुली लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृति झल्कने नाच तथा कला प्रस्तुत गरिएको थियो । कार्यक्रम लोकेन्द्र थापाको अध्यक्षता, जगदीप चिदीको स्वागत तथा संगिता थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update