Erani Mahal
रामपुरका गाइले पाए टहरा
85094392_201870947682964_481437018946011136_n

पाल्पा - स्थानीयबासीको सक्रियता र नगरपालिकाको सहयोगमा गौशाला निर्माण भएसंगै बेवारिसे रुपमा छाडिएका गाइले ओभानो ओत लाग्ने ठाउँ पाएका छन् । छाडा छोडिएका गाइले स्थानियलाई हैरानी पारेपछि नगरपालिकाको पहलमा ६ नम्बर वडा कार्यालय परिषरमा तत्काललाई टहरो बनाएर राखिएकोमा तातोपानीमा गौशाला निर्माण गरेर गाई राख्न मिल्ने सम्म भएपछी नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाईलाई गौशालामा प्रवेश गराएर उद्घाटन गर्नु भएको हो ।

गौमाताको महत्त्व हामी सबैलाई थाहा छ, नगरप्रमुख थापाले भन्नुभयो- सनातन धर्म संस्कृती अनुसार गाईलाई माताका रुपमा पुजाआजा गरिने र बैज्ञानिक रुपमा पनि गाइको दूध, गहत र मल औषधीय भएकाले कार्यबिधी अनुसार यसको थप व्यबस्थापनमा नगरपालिका कटिबद्ध छ। जैविक ,प्राकृतिक र आयुर्वेदिक महत्व बोकेको र यसको अर्गको रुपमा बिदेशमा बिक्री भैरहेकाले नेपालमा पनि यसको संभावना नजिक रहेको उहाको भनाई छ।

छाडा गाइले किसानको खेतबारीका हरिया सागपातदेखि अन्नवाली खाइदिएपछि किसानले गतबर्ष नगरपालिकाका कार्यलयमा गाई बाधिदिएपछी गाइको व्यबस्थापनमा चासो बढेको हो । गाइको संरक्षण र गौशाला निर्माणलाई आत्मसाथ गरेको छोटो समयमा गौशालामा गाई राख्न सम्भव भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा निर्माण गरेको गौशाला उद्घाटनका अबसरमा ६० वटा गाई बाधिएको छ । यसअघि वडा कार्यालय परिषरमा स्थानियले घासपानी दिएर टहरोमा राखेका थिए । वडा कार्यालये २ कर्मचारी राखेर दिउँसो रेखदेख गरेपनी टहरोमा फुकुवा गाई रातभर निस्केर नजिकका बस्तीमा हैरान पार्ने गरेको स्थानिय मिना घिमिरेले बताउनुभयो । गौशाला बने संगै अब रातमा खेतबारीमा कुरुवा बस्न नपर्ने भएकोमा उनिहरु खुशी भएका छन् ।

रामपुर नगरपालिकाको गत आर्थिकबर्षको २० लाख र यसबर्षको २० लाख रकमबाट गौशालाको निर्माण गरिएको हो । यहीबर्षबाट निर्माण थालिएको गौशालामा ढलान , ट्रष्ट, चारैतिर घेराबार गरेपछी गाई बाँध्न मिल्ने सम्म गराएर टहरोबाट गाई सारिएको हो। निर्माणको काम अझ धेरै बाकी छ- गौशाला निर्माण समितिका अध्यक्ष घनश्याम खनालले भन्नुभयो । १५ रोपनी क्षेत्रफलमा गौशालाको संरचना बनाएर गाई बाधिएको छ, अब यसकै थप विकास र व्यबस्थापनका लागि महायज्ञको तयारीमा छौ उहाले थप्नुभयो ।

नगरपालिकाले गाइको संरक्षणमा फागुन १२ देखि २० सम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञको आयोजना गरेको छ । गौशालाको धामको रुपमा रामपुरलाई विकास गर्ने अभिप्रायले महायज्ञ गर्न लागेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

गौशाला निर्माण कार्यलाई बढाउन र यहाँ थप धर्मशाला बनाउनका लागि आर्थिक संकलन गर्ने उद्धेश्यले महायज्ञ गर्न थालिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । महायज्ञबाट झण्डै ५ करोड दान संकलन गर्ने लक्ष्य लिएका छौ, न्यौपानेले भन्नुभयो- २ करोड रकम गौशालाको दीगो व्यबस्थापनमा र ३ करोड अपाङ्गमैत्री सहित १ सय जना बस्न मिल्ने धर्मशाला निर्माणमा लगाउने योजनामा छौ ।

गतबर्ष माघमा पतन्जली योग पिठका आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण जी महाराजले शिलान्यास गर्नुभएको गर्नुभएको गौशालामा २ सय ५० गाई अट्ने क्षमताले निर्माण गर्ने तयारी अघि बढेको थियो ।तत्काललाइ फुकुवा छाडिएका गाइलाई भएपनी गौशाला बनाउनुपर्ने अबस्था थियो । त्यस बेला छोडिएका गाइ ३० वटा जति थियो गौशाला निर्माणको बिचमा बाछाबाछी गरेर गाइको संख्या ६० पुगेको हो । गौशाला परिषरमा हुने महायज्ञमा प. नारायणप्रसाद न्यौपानेले संगितमय शैलीमा कथावाचन गर्नुहुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update