Erani Mahal
पाल्पा महाेत्सवमा शुक्रबार हजाराैं दर्शककाे घुँइचाे
876

पाल्पा – पाल्पा महोत्सवमा नबौँ दिन अर्थात फागुन ९ गते चर्चित बालकलाकार कमला घिमिरेले आफ्नो प्रस्तुती राखेकी छिन् । उदयीमान कलाकारको रुपमा रहेकी घिमिरेले पाल्पा महोत्सवमा आएका हजारौँ दर्शकलाई नचाइन् । उनले चियाँ छानेको लगायतका गीत तथा दोहोरी गीत समेत प्रस्तुत गरेकी थिइन् ।

शुक्रबार शिवरात्री समेत परेकाले दर्शकको भीड थामिनसक्नु रहेको आयोजकले जनाएको छ । शुक्रबार बिहानैदेखि पानी परेपनि महोत्सवमा भने दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो । साँझ भने ठूलो पानी परेपछि घिमिरेले सबै प्रस्तुती गर्न पाइनन् ।

पाल्पाका विभिन्न स्थानबाट आएका २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए । शुक्रबार महोत्सवमा उदयीमान कलाकार घिमिरे, नविन पाैडेल, तेजु अर्याल, विभिन्न कला केन्द्रको प्रस्तुती रहेको थियो । यस्तै विभिन्न विद्यालयको प्रस्तुती तथा नृत्य प्रतियोगिता समेत भएको थियो ।

शनिबार भने लोक गायक पुष्कल शर्मा, धुर्मुस, पाेखरेली माग्ने बुढा लगायतका कलाकार आउने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो । महोत्सवको अहिलेसम्म ९० हजार दर्शकले अबलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो ।

महोत्सवमा हालसम्म दर्शकको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । महोत्सवमा अहिलेसम्म झण्डै ३ करोड ५० लाखको कारोबार भएको छ । विभिन्न स्टल तथा बाल उद्यान, होटल तथा रेष्टुरेन्ट, बुहराष्ट्रिय कम्पनी तथा राष्ट्रिय कम्पनीमा सामग्री गरी ३ करोड ५० लाखको कारोबार भएको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । यस्तै पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका समेत स्टल रहेका छन् । महोत्सवमा तिनाउ, रिब्दीकोट, तानसेन, रम्भा लगायतका गाउँपालिकाले आफूले गरेका क्रियाकलापका बारेमा जानकारी गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update