Erani Mahal
बगनासकालीमा गाउँशिक्षा योजनाबारे छलफल
Education-1

पाल्पा– गाउँ क्षेत्र भित्र योजनाबद्ध रूपमा शिक्षाको विकास गर्ने उद्देश्यले बगनासकाली गाउँपालिकाले गाउँ शिक्षा योजना निर्माण गरेको छ । योजनाको प्रस्तावित प्रारम्भिक मस्यौदाबारे सरोकारवालाहरूबीच सुझाव संकलन गर्दै मंगलबार शिक्षा शाखाको आयोजनामा गाउँपालिका सभाहलमा भएको छलफल कार्यक्रममा योजनाबारे जानकारी गराइएको हो ।

\


छलफलमा शिक्षा शाखाका प्रमुख गुनाराम खनालले गाउँशिक्षा योजनामा शिक्षालाई रोजगारमुलक, व्यवसायी, बालमैत्री र प्रविधियुक्त बनाएर जनजिविकासँग प्रत्यक्ष सम्बन्धित बनाउने कार्यक्रमहरू समावेश गरिएको बताउनुभयो । उहाँले योजनामा प्रस्तावित गरिएका कार्यक्रमहरू बगनासकाली गाउँक्षेत्र भित्रका सबै नागरिकहरूको सरोकारका विषयवस्तु भएकाले सवैको प्रत्यक्ष संलग्नता, सहभागिता र सहयोगमा कार्यक्रम गर्ने गरी योजना निर्माण गरिएको औंल्याउनुभयो ।


बगनासकाली गाउँपालिकाको शैक्षिक कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन, गाउँपालिकाको शैक्षिक नीतिलाई सहज र मार्ग दर्शन गर्न, शिक्षामा समन्यायिक र समता कायम गरी शिक्षामा सबैको पहुँच पु¥याउन, बगनासकाली गाउँपालिकामा लागु भएको बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन बगनासकाली गाउँपालिकाको आगामी त्रीवर्षीय गाउँशिक्षा योजना प्रभावकारी हुने शिक्षा शाखा प्रमुख खनालले बताउनुभयो ।


बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाद्वारा निर्माण गरिएको शिक्षा योजनालाई सरोकारवालाहरूसँगको परामर्शपछि थप प्रभावकारी बनाउन सकिने भएकोले शिक्षा नीतिलाई योजना निर्माणको नीति निर्देशकको रूपमा रही सोही अनुरुपका कार्यक्रम र रणनीतिहरू तयार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बगनासकालीको शिक्षालाई समृद्धि र रोजगारीसँग जोड्न सकिएमा गाउँशिक्षा योजना अर्थपूर्ण हुने धारणा राख्नुभयो ।


बगनासकाली गाउँपालिका शिक्षा समन्वय समितिका सल्लाकार डा. शंकर गैरेले आवश्यकता पहिचान गरी योजना निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि महत्वकांक्षी योजना अगाडि सार्नुभन्दा क्रमिकरूपमा शैक्षिक समस्याहरू हलगर्दै अगाडि बढ्दा अपेक्षित उद्देश्य पूरा हुनेमा जोड दिनुभयो ।


छलफलमा बगनासकालीको परिचय, बगनासकालीको वर्तमान शैक्षिक अवस्था, शैक्षिक योजना निर्माणका उद्देश्य, शैक्षिक उपलब्धि, वर्तमान शैक्षिक चुनौती लगायतका विषयमा सरोकारवालाहरूमाझ अन्तरक्रिया गरिएको थियो । गाउँपालिकाको शैक्षिक योजनामा बालविकास शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, अनौपचारिक शिक्षा, उच्च शिक्षा, संस्थागत विद्यालयको रणनीति र कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, सुरक्षित विद्यालय लयायतका विषय समावेश गरिएको छ ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो । बगनासकाली गाउँपालिका सामुदायिक ३०, संस्थागत ३ र संस्थागत गुठी गरी ३७ वटा विद्यालयका ४ हजार २७ विद्यार्थीको गुणस्तर कायम गर्नका लागि गाउँशिक्षा कार्यक्रम प्रभावकारी हुने गाउँपालिका स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update