Erani Mahal
सामाजिक विषयकाे पनि “सोसल ल्याब” स्थापना गरी सञ्चालन
Social-Lab-palpa-1

पाल्पा – शिक्षण सिकाई प्रभावकारी बनाउन जिल्लाको एक विद्यालयले सामाजिक विषयको पनि ल्याब बनाएको छ । सामाजिक विषयको अध्ययनलाइ प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीको सक्रियतामा “सोसल ल्याब” बनाइएको हो ।

तानसेन–२, स्थित महेन्द्रवोधि माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउन छुट्टै “सोसल प्रयोगशाला” बनाइएको हो । विद्यार्थी, शिक्षक मिलेर गत शैक्षिक सत्रदेखि सोसल ल्याब सञ्चालनमा ल्याइएको महेन्द्रबोधी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव केसीले बताउनुभयो । सामाजिक विषयको अध्ययन्लाई प्रभावकारी बनाउन विद्यार्थी र शिक्षकको पहलमा “सोसल प्रयोगशाला” तयार गरेर पठनपाठन गरेका छौँ प्रधानाध्यापक केसीले भन्नुभयो ।

?

प्रयोगशालामा दैनिक जीवनमा प्रयोग हुने ढिकी जाँतो, हलो, जुवा, ठेकी, स्यागु, डोको, गुलेली, टुकी, लालटिन आदि छन् । नेपाली समाजमा परम्परादेखि नै प्रयोग हुँदै आएको घरेलु सामग्री सहित विद्यार्थीले बनाएका विभिन्न हस्तकला तथा वस्तुकलाका नमूनाहरू सोसल ल्याबमा राखिएको विद्यालयले जनाएको छ ।

पुराना नोट तथा सिक्काहरू, रेडियो, विद्यालयको पुरानो मध्येको एक कम्प्यूटर, विद्यार्थीले सिर्जनात्मक रुपमा बनाएका विभिन्न चार्ट पेपरहरू लगायत एक सय भन्दा बढी सामग्रीहरू उक्त ल्याबमा राखिएको सामाजिक विषयका शिक्षक झविन्द्र देवकोटाले बताउनुभयो । सामाजिक विषय अध्ययन् कार्यमा सहयोग होस् साथै पाठ्यपुस्तकमा भएका विषयको ज्ञान लिन विद्यार्थीलाई सहज होस् भनेर सोसल ल्याब सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नेपाली समाजको दैनिक जीवनमा प्रयोग हुँदै आएका तर विस्तारै लोप हुन लागेका यस्ता बस्तुहरूको सङ्कलनबाट विद्यार्थीलाई सामाजिक ज्ञान दिन सकिने विद्यालयको भनाई छ । अघिल्लो पुस्ताको सामाजिक जीवन बुझ्न सघाउने र विद्यार्थीको कला र सीप प्रयोग भएका सामग्रीको सङ्कलन गरेर बिना लगानी प्रयोगशाला निर्माणको पहलकर्ता शिक्षक देवकोटाले बताउनुभयो । हाललाई प्रयोगात्मक परीक्षा अन्तर्गत विद्यार्थीलाई सामग्री जम्मा गर्न लगाई उक्त कक्षको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

सोसल ल्याब निर्माणले विद्यार्थीको पठनपाठनमा थप हौसला बृद्धि गरेको छ भने शिक्षण सिकाई समेत प्रभावकारी बनेको छ । सामाजिक विषयको सैद्धान्तिक र व्यवहारिक ज्ञान अब प्रयोगका माध्यम्बाट लिन पाउदा विद्यार्थी समेत खुसी भएका छन् ।
सोसल ल्याबमा विद्यार्थीले पढ्दैँ, सिक्दै, बुझ्दै सहभागिता जनाईरहेका छन्’ देवकोटाले भन्नुभयो, अन्यत्रका केही विद्यालयमा समाजमा पाईने पुराना तथा नयाँ सामग्री जम्मा गर्ने चलन त देखिएको छ, तर सोसल ल्यब भने निर्माण भएको पाइदैन । विद्यालयमा सोसल ल्याव भनेर विद्यालयमै छुट्टै कक्ष निर्माण गरिएको पहिलो भएको उहाँले दावी गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update