Erani Mahal
पाल्पा महोत्सवको चौथो दिन पनि दर्शकको भीड
86305011_2299302450366453_3188322650963312640_n

पाल्पा – पाल्पा महोत्सवको चौथो दिन पनि दर्शकको भीड लागेको छ । महोत्सव सुरु भएदेखि नै दर्शकको उत्साहजनक सहभागिता रहेको हो । तानसेनको मुख्य बजारभन्दा बाहिर सहरउन्मुख क्षेत्र दमकडामा चलेको महोत्सवमा दर्शकको उपस्थिति न्युन हुने आँकलन गरिएपनि अहिलेसम्म ३५ हजार दर्शकले मेलाको अबलोकन गरिसकेका छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले दर्शकको उत्साहजनक उपस्थितिले आफूहरु उत्साहित भएको बताउनुभयो । अबदेखि ग्रामीण क्षेत्रमा मेला महोत्सव गर्दा पनि सफल भइने रहेछ भन्ने सन्देश दमकडामा सञ्चालित मेलाले दिएको उहाँले बताउनुभयो । पहिलो दिन ८ हजार, दोस्रो दिन ५ हजार, तेस्रो दिन १५ हजार र चौथो दिन ७ हजार बढी दर्शकले मेलाको अवलोकन गरेको जानकारी पाल्पा व्यापार संघका सचिव पर्शुराम पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । पाल्पाका अधिकांश स्थानीय तहका कृषि र पर्यटनका स्टल रहेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । यस्तै पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका समेत स्टल रहेका छन् । महोत्सवमा मामाथागढीस्थित लघुउद्यम सीप विकास केन्द्रले तयार गरेको, स्वीटर, टोपी, मफलर, रुमालको समेत स्टल राखिएको छ । यस्तै बगनासकाली चिलाङ्दीमा खुमबहादुर विकले तयार पार्नुभएको फलामका हसिया, मकै छोडाउने मेसिन, दतिया, खुकुरी, ताउलोलगायतका सामग्री समेत आकर्षक बनेका छन् ।

दमकडा र रिभर भ्याली बोर्डिङ् स्कुलले तयार गरेका भावी माडी उपत्यकाको सामग्री, मदनपोखराका किसान तथा कृषि सहकारी संस्थाले राखेका कृषि सम्बन्धी स्टल, मौरीको गोलासहितको स्टल, निस्दी काउलेडाँडामा उत्पादित अम्रिसोको कुचो समेत स्टलमा राखिएको स्टल संयोजक ढकालले जानकारी दिनुभयो । मेलामा अहिलेसम्म एक करोड ५० लाखको कारोबार भएको र अन्तिम दिनसम्ममा ५ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको आर्थिक संयोजक विष्णु खनालले जानकारी दिनुभयो ।

उता महोत्सवको चौथो दिन लोकदोहोरी गायक श्रीस देवकोटा, शान्ति परियार, विष्णु ठडराई, पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतले आआफ्नो प्रस्तुती राख्नुभएको सांस्कृति उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार आइतबार साइनिङ् स्टार डान्स एकाडेमी, सराई, राज मन्जु श्री कला केन्द्र, तानसेनको प्रस्तुती समेत रहेको थियो ।

सोमबार अर्थात फागुन ५ गते लोकदोहोरी गायक नारायण लेकाली, रामचन्द्र चन्द, सपना गाहा, हास्य कलाकार विजय बमडेल, कमल भट्टराई, जुम्बा फिटनेस एण्ड डान्स सेन्टर तानसेन, सराई खहरे महिला समूहको रत्यौली तथा विद्यालय स्तरीय नृत्यु प्रतियोगिता समेत हुने सांस्कृति उपसमितिका सहसंयोजक लोकेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update