X
15
Shares

माओवादी जनयुद्ध र मेरो संझना

रानीमहल संवाददाता || ४ फाल्गुन २०७६,आईतवार १६:१९

सन्दर्भ : २५ औं जनयुद्ध दिवश

राम बहादुर गरंजा (एसकुमार)     ज्याकविलले भनेका छन् : “केवल परिवर्तन शब्द बाहेक सबै वस्तु परिवर्तनशिल छ।” हो उनले भनेझै  संसार अपरिवर्तनशिल छैन, यो गतिमा छ । नयाँ जन्मनुमा पुरानोको अन्त्य अनिवार्य छ, परिवर्तन भनेको गुमाउनु हो र हरेक शुरूवात अन्त्यको पर्याय हो । बिनाश नभर्इकन विकास हुँदैन ।

लेखक राम बहादुर गरम्जा

यदि दोस्रो विश्व युद्वमा अमेरिकाद्वारा जापानको मूख्य शहरहरू हिरोसिमा र नागासाकीमा बमबाड नभएको भए आज विश्वको पुजीवादी मुलुक बन्ने थिएन होला । त्यस्तैगरि छिमेकी देश चिनमा २० बर्ष लामो जनवादी क्रान्ति नभएको भए आज विश्वमा बिकासको नमूना देश बन्दैन थियो होला र अमेरिकाले विश्वमा साम्राज्य फैलाउने थिएन होला । त्यस्तैगरि रूस र जर्मन पनि बिश्वको ठुला देश हुने थिएनन् ।

यो विज्ञानको नियम हो यसलार्इ नकार्न मिल्दैन । त्यस्तैगरि नेपालमा जनसंविधान, संघीयता र गणतन्त्रको माग गर्दै नेकपा (माओवादी) ले जनयुद्ध नगरेको भए देशमा परिवर्तन हुने थिएन । जनयुद्ध भएको अहिले २४ वर्ष पुरा भर्इ २५ वर्षमा प्रबेश गरेको छ ।बार्षिकउत्सवको अवसरमा सर्वप्रथम क.अजित, क.केवल र क.पृथ लगायत  जनयुद्धका महान शहिदहरू प्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु साथै सम्पूर्णमा हार्दिक सुभकामना ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  तर आज अनायासै घाउँहरू बल्झिन थालेका छन् । शहिदहरूले बगाएको रगतको संझना आइरहन्छ । हिजो जनतामाझ खाएका कसम पुरा भए कि भएनन् ? भन्ने पिरले सताइरहन्छ । हिजो गरिखाने र ठगिखाने बर्ग विचको विभेदको पर्खाल त थियो नै । देशमा २०४६ सालको पहिलो जनआन्दोलन पछि जनतन्त्र, जनजिबिका र राष्ट्रियताको ४० सुत्रिय माग गर्दै २०५२ साल फागुन १ गतेदेखि नेकपा (माओवादी) को नेतृत्वमा सामन्ती व्यवस्थाको विरूद्धमा भएको अभियानमा नेपाली जनताहरू गोलबन्द भएका थिए । “व्यवहार त्यो ऐना हो, जसमा प्रत्येक प्रतिबिम्व देख्न सकिन्छ ।”- गेटेले भनेझै जाँड रक्सि खाने, जुवा तास खेल्ने, बहु-विबाह गर्ने, भ्रष्ट्राचार गर्ने र छुवाछुत गर्ने समाजका शोषक सामन्तीलार्इ कालो मोसो लगाउँदै जनकार्बाहीको अभियान लिएर शुरूवात भएको थियो जनयुद्ध । नेपाली जनतालार्इ आमुल परिवर्तनको सपनामा गोलबन्द गर्दै हिडेका थिए, माओवादी नेताहरू । मुक्ति या मृत्युको सपथ खाएर शिरमा रातो कफन बाँधी हिडेका थिए हजारौ शोषित, पिडित नेपाली जनताका छोराछोरीहरू । ‘जातिय मुक्ति बिना बर्गिय मुक्ति असम्भव छ’ भन्ने नारामा समाहित भएका थिए नेपालका बहुसंख्यक उत्पिडित् आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, सिमान्तकृत समुदाय, पिछडावर्ग र लाखौ भूमिहिन सुकुम्बासीहरू ।

लिङ्गिय शोषणको बिरूद्धमा यो देशका तमाम महिलाहरू आफ्ना जिवनसाथी र दुधे बालक पनि नभनी महिला मुक्तिको यात्रामा लामबद्ध थिए । मलार्इ पनि बिस्तारै उक्त नाराले प्रभावित पार्दै लग्यो, पार्टीमा कहिले हिँडौ र कहिले घर छोडौ भैरहेको थियो ।एक्कासी आमाबुवा लगायत अरू कसैलार्इ पनि नसोधी क्रान्तिमा सधैको लागि लाग्ने प्रण गरि २०५७ साल श्रावण १० गतेका दिन मेरो अंकलको छोरा (किसान) र म झोला बोकी पूर्णकालिन भएर लाग्यौ । पार्टी क्रान्तिकारी र भुमिगत भएको कारण दुश्मनले पार्टीका गतिविधी थाहाँ नपाओस् र पत्ता नलागोस् भनेर पार्टीमा सबैका टेक नाम राखिनेरहेछ । त्यसैले मेरो नाम क.दिपक र किसनको नाम क. गंभिर राखियो । त्यसैको नामबाट हामी पार्टीमा काम गर्न थाल्यौ ।

उसको सानैदेखि भर्ति हुने र कम्ब्याड ड्रेस लगाएर हतियार बोक्ने रहर थियो त्यसैले उ जनमुक्ति सेनामा भर्ति भयो भने मैले सांस्कृतिक फाटमा जिम्मा लिन पुगे । उक्त समयमा पाल्पामा पार्टी प्रमुखको जिम्मेवारी क.कुशल प्रधानले सम्हाल्नुभएको थियो भने नेकपा (माओवादी) पाल्पाको इतिहासमा पहिलोपल्ट २०५५ सालमा सेक्रेटरी क. अशोक लम्साल (अनुकुल) को नेतृत्वमा ७ सदस्यीय तदर्थ जिल्ला समिति बनेको थियो । २०५७ साल पुष १७ गतेका दिन सिद्धेश्वरको साउनेमा क.टोप बहादुर रायमाझी (अनिल) को प्रमुख आतिथ्यमा पहिलो सम्मेलन सम्पन्न भयो र जसले क.कुशल प्रधानको नेतृत्वमा १२ सदस्यीय जिल्ला समिति निर्बाचित गरेक थियो । उताभने हामी डिडेको थाहा पाएपछि मेरो घरमा सबैजना रूवावासी भयो अरे।आमा र हजूरआमाले धेरै पिर मान्नुभएछ त्यसबेला बुवाले आमालार्इ सम्झाउँदे एउटा फुल फुट्यो भनेर चित्त बुझाउँला भन्नुभएको कुरा पछि बाँचेर फर्कदा थाहाँ पाए । भन्नुपनि स्वभाविकै थियो किनकी देशमा संकटकाल लागेको थियो सरकारको बिरूद्धमा कोही बोल्न र केही गर्ने छुट कसैलार्इ पनि थिएन । जनसंबिधानको माग गर्दै हिडेका हजारौ क्रान्तिकारीहरूलार्इ तत्कालिन राजा ज्ञाने शाहीले केही दलाल र राष्ट्रघातीहरूको साथ लिएर टाउकाको मुल्य तोक्दै टाउको ल्याउने र बताउनेलार्इ बम्फर पुरस्कारको ब्यवस्था गर्दै थियो ।फेरीपनि हामी सामन्तबाद र साम्राज्यवाद नामक २ ठुला पहाडलार्इ भत्काएर नयाँ जनवाद र समाजवाद हुँदै अन्तत बिश्व साम्यवादमा पुग्ने लक्ष्यका साथ अगाडि बढिरह्यौ ।

 म २०५८ साल श्राबण २० गते क. उषाको नेतृत्वमा रहेको श्रीनगर सांस्कृतिक परिवार पाल्पाको सदस्य बनी पश्चिमेली छाडा संस्कृतिको पर्दाफास गर्दै नयाँ जनवादी संस्कृतिको बिगुल फुक्दै हिडेको थिए । उक्त कलाकार टोलिमा क.श्रद्धा, क. अनिल, क.सुस्मा, क.सन्तोष, क.प्रदिप लगायत साथीहरू थिए । कलाकारको टिममा सबै साथीहरू कला र गलाका धनी थिए, बिशेषगरि क. श्रद्धाको निकै राम्रो स्वर थियो नाच्नमा पनि उत्तिकै ट्यालेन्ट थिइन् । उनीको त्यो जादु थियो वा बरदान म अहिलेपनि छुट्याउन नसकी दुबिधामा पर्नेगर्छु । हामी कलाकारहरूले पाल्पा जिल्लामा मात्र नभएर नेपालका बिभिन्न ठाउँमा आफ्ना कला र गलाको माध्यमबाट सबैलार्इ गोलबन्द गर्दै गयौ । २०५८ सालमा गुल्मीको धुर्कोटमा गएर हामीले अञ्चल स्तरको सांस्कृतिक तालिम लियौ । त्यस लगत्तै क्षितिज सांस्कृतिक परिवारको अभियानमा गुल्मीको भार्से, पाल्पा हुँदै अर्घाखाँचीको अर्घा भन्ने ठाउँमा क.राम बहादुर थापा (बादल) को प्रमुख आतिथ्यतामा भएको बृहद जनसभामा

“डोल्पाको धक्काले दरबार थर्कायो, लालसेना गर्जिदा देशै बिउझियो । फासीबादी सत्तामा खैलाबैला भो, होसै उड्यो हत्यारा शासकहरूको ।।” भन्ने गितमा बिशेष सांस्कृतिक कोशेली प्रस्तुत गर्ने मौका मिल्यो । त्यो मेरो लागि निकै ऐतिहासिक रह्यो । बुर्जुवा संस्कृतिको बिरोध गर्दै नयाँ संस्कृतिको निर्माणमा थालिएको अभियानकै दौरानमा मैले ८/१० वटा भन्दा बढी सांस्कृतिक तालिम प्राप्त गरे । माओवादी भनेपछि तर्सने, डराउने र भाग्ने मान्छेहरू पनि हामीलार्इ देखेर स्वागत गर्न हतार हुन थाले । बाहिर खुल्न नसकेपनि भित्र÷भित्रै आम नेपाली जनताले मायाका पुष्प गुच्छाहरूले स्वागत र बधार्इ दिइनैरहे । हरेक उत्पिडनका बिरूद्भमा गाइएका हाम्रा गितले सबैका मन त छुन्थे नै । देशको अन्धो कानुनलार्इ मुकाबिला गर्दै २०५८ साल भदौ २ गते रहबासको चिर्तुङ्गमा हजारौ कार्यकर्ता र जनताको सहभागितामा पाल्पा जिल्लाको जनसरकार घोषणा भएको थियो  र त्यसको प्रमुख केवल गाहा मगर बन्नुभयो । त्यसको लगत्तै हाम्रो अभियान २०५८ साल कार्तिक ४ गतेका दिन कोल्डाडामा पुग्यो । जहाँ एउटा कार्यक्रम हुँदै गर्दा आन्तरिक दुर्घटनामा परी क. धुर्व रसायली (अजित) को मृत्यु हुन पुग्यो । त्यो नै पाल्पा जिल्लाको सबैभन्दा पहिलो घटना थियो । त्यस्तैगरि घरमा बुवाआमालार्इ भेट्न जाँदा एउटा पाल्पाली हस्ती र सबैका आशाका केन्द्रबिन्दु क.केवल गाहालार्इ २०५८ पुष ४ गतेका दिन सेनाले स्वयम आफ्नै घरमा घेरा हालेर हत्या गरे । उक्त घटनाले सम्पूर्ण पाल्पालीलार्इ ठुलो क्षति भयो र हामीलार्इ निकै भावुक र स्तब्ध बनायो ।

अभियानकै क्रममा २०५८ साल चैत्र ६ गनेका दिन जनमुक्ति सेना र संगठन कर्ताको ठुलो टिम पाल्पा जिल्ला सोमादीको भगानीडाडा पुग्यो । त्यहाँ रातभरी हिडाइको थकान/निद्राको कारणले बिहान निशस्त्र रेष्ट गरिरहेको र कोही खाना पकाइरहेको मौका छोपी एक्कासी तत्कालिन शाही सेनाद्वारा आक्रमण हुँदा हाम्रा धेरै साथीहरू शहिद हुनुभयो, श्याम बहादुर गरंजाको घरगोठ तथा गार्इभैसीहरू बमबाड र गोलीका शिकार भए तर हामीभने लुकेर बाच्न सफल भएका थियौ ।पाल्पा जिल्लाकै ठुलो उक्त घटनाले पार्टीलार्इ ठुलो क्षति भयो । फेरिपनि आवश्यकता अनुसार जे पनि गर्न र बन्न तयार हुनुपर्थ्यो, नत्रभने त्यो माओवादी कार्यकर्ता नहुने बुझाइको स्पिड थियो हामीमा। स्वेट मार्डनले-“विश्वासको शक्ति महान् छ, यसले पहाडलार्इ नै हल्लाइदिन्छ ।” भनेझै नेतृत्वलार्इ भगवान जस्तै पुरा विश्वास थियो, गद्धार र विश्वासघात गर्दैन भनेर । यसरी नै हाम्रो जनयुद्व जारी रह्यो । काँडाहरूका बिचमा फूल फुलेका थिए, चुनौती र अप्ठ्याराका बिचमा जीवन र आशाका सपना फूलेका थिए । फेरिपनि मृत्युलार्इ जितेर हाँसी-हाँसी आहुति दिन तयार भयौ । भर्खर अघिसम्म आफूसँग खेलेको, हासेको, भाषण र कासन गरिरहेको मोर्चामा बिरतापूर्वक लडिरहेको कमाण्डर ढल्दा हामी धेरै रोयौं । महान शहिदहरू गुम्दा हामी आँसुमा परिणत भयौ । तर जब त्यो मोर्चा जितेर दुश्मनलार्इ कब्जा गर्दै तिनलार्इ जीवन दिएर मुक्त गर्‍यौ, हामी गर्वले फुल्यौ ।

  बिशेषगरि संझनाको दायरीमा लिपिबद्ध भएको दिन २०५९ साल श्राबण १० हो । जुन दिन मेरो लागि कालो दिन, मलार्इ तत्कालिन शाहिसेनाद्वारा गिरफ्तार गरि चरम यातना र पिडा दिइ भाद्र १३ गते अर्थात ३५ दिनपछि रिहा भएको हो । देशभरि राष्ट्रिय स्वाधिनता र बर्गिय मुक्ति आन्दोलनमा खुसीका साथ प्राण दिएका थिए हजारौ असली राष्ट्रसेवकहरू । मर्नको लागि कोही डराउदैनथ्यो, किनकी हामीसँग दरिलो माओवादको बिचार थियो । पार्टीमा काम गर्दै जाँदा ४ बर्षपछि जिल्ला इन्चार्ज क.कुशल र जिल्ला सचिब क. आस्था नेतृत्वमा रहेको बेला २०६० साल बैशाक २० गते बल्ल मैले तत्कालिन नेकपा (माओवादी) को पार्टी सदस्य पाए । पार्टीको काम गर्दै जाने शिलशिलामा अर्का होनाहार योद्भा तथा इमान्दार पात्र पृथ सोमै लार्इ पनि पालुङ्गमैनादीको डबका भन्ने स्थानमा २०६१ साल मंसिर १२ गतेका दिन कायरतापूर्ण हत्या गरे । तरपनि शोकलार्इ शक्तिमा बदल्दै अगाडि लम्किरह्यौ । २०६२ साल भदौ ६ गते पाल्पाको बहादुरपुरमा बिश्राम गरिरहेको बेला तत्कालिन शाही सेनाद्वारा गोली र बमबाड गरेको घटना निकै गम्भिर थियो ।

जसमा हाम्रो पार्टिका जिल्ला सचिव क.बिलय, क. राम प्रसाद घिमिरे लगायत ५ जना कामरेडहरू गुमायौ भने हामी भागेर बाच्न सफल भएका थियौ । त्यस्तैगरि देशभर सांस्कृतिक योद्भाहरू क.चुन्नु गुरूङ्ग, क. कृष्णसेन इच्छुक, क.सारदा श्रेष्ठ, क.च्याम्वा लामा, क. मस्त विष्ट लगायत २५० भन्दा बढी सांस्कृतिक शहिदहरू भए । हामीभने आफ्नो अभियानमा अनवरत रूपमा निरन्तर लागिरह्यौ । समग्र टिम र आफ्नो सुरक्षाको लागि सेन्ट्री बस्ने क्रममा रातिमा चरा, मुसा र जनाबर दगुर्दा डराएका क्षण, कैयौं रात चन्द्रमा र तारा गन्दै बिताएका पल र पाल्पाको बिभिन्न स्थानमा सामान सप्लार्इ गर्दा रातीमा बिपरित दिशाबाट लाइट बाली आएको मानिसलार्इ देखेर दुश्मनजस्तै मानी भागदौड मच्चिदाको घटनाले अहिले पनि हाँसो लागेर आउँछ । जुन जीवन्त घटना थियो र अजर अंमर बनेर बसेको छ मेरो जीवनको पर्दामा ।सामन्ती निच संस्कृतिका बिरूद्भ नयाँ गणतान्त्रिक संस्कृति निर्माण गर्दै शाहस लिर्इ आकास चुम्ने लक्ष्यका साथ अगाडि बढेका क्रान्तिकारी कदमहरू कहिले गद्भार र अवसरबादीहरू जन्मिएपनि हाम्रो यात्रा जारी रह्यो । क.एसकुमार को नामबाट २०६२ साल पुष २० गते पुनः क.हिमशिलाको नेतृत्वमा रहेको श्रीनगर सांस्कृतिक परिवार पाल्पाको बरिष्ट सदस्य बनी काम गरे । त्यतिखेर कलाकारमा क.डिफेन्स, क. निशा, क.संगिन, क.समिता, क.चुनौती लगायत साथीहरू थिए । पार्टीकै काममा हिड्दा-हिड्दै मेरो एकमात्र बहिनीको बिवाह भयो । उनीलार्इ कन्यादान समेत गर्न पाइन मैले ।

कलाकारको अभियानमा पाल्पाको पूर्बमा बाकामलाङ्ग, जल्पा र पश्चिममा सिद्धेश्वर, बल्ढेङ्गढी लगायत जिल्ला बाहिर यात्रा गर्दा कैयौ रात गिटार, किबोर्ड र मादलका सिरानीमा बिताएका क्षणहरू, कैयौ समय दालमोट र चिउरा खाएर छाक टारेका दिनहरू अनि खाली पेट कटाएका दिनहरू मेरो मस्तिष्कमा सेफ भएर बसेको छ । ति बर्षे झरिमा भेल र बाढी नभनी एउटा प्लाष्टिकको भरमा जुकासँग पैठेजोरी खेल्दै पार गरेका लामा मार्चपासहरू निकै नै ऐतिहासिक रहे । त्यतिमात्र नभर्इ हिजो साथीहरूसँग लडी-लडी जुठो पनि नभनी एउटै भाडामा खाएका क्षणहरू मेरो मानषपटलमा अविस्मरणिय फोल्डर बनी बसेको छ । त्यतिखेर मलार्इ उसको परिवार, जात, भाषा, धर्म, क्षेत्र, संस्कृति के हो केही थाहा थिएन, मात्र हामी कम्युनिष्ट हौ भन्ने थाहाँ थियो । खै कस्तो रहेछ कुन्नी रगतको नाताभन्दा बर्गिय नाताको त्यति धेरै बिश्वास र सम्मान ।

शायद अहिले कुनै एकादेशको कहानी जस्तो लाग्न सक्छ । त्यो बेला हामीले नत घर बनाउनु थियो, नत दाजुभार्इलार्इ जागिर खुवाउनु थियो, नत हामीले जग्गा किन्नु नै थियो । केही स्वार्थ थिएन, थियो त केवल शोषित पिडितको मुक्ति अनि स्वाधिन नेपाल सहितको साम्यवादको सपना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys