Erani Mahal
पाल्पा महोत्सवको दोस्रो दिन : दर्शककाे सहभागिता बढ्दैं
photo

पाल्पा – पाल्पा व्यापार संघले पाल्पाको माडी दमकडामा आयोजना गरेको प्रथम पाल्पा महोत्सवमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता बढेको छ । पाल्पा महोत्सवको दोस्रो दिन शुक्रबार ५ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । तानसेन–९, माडीफांट दमकडामा जारी महोत्सवमा शुक्रबार चर्चित लोक तथा दोहोरी गायक तेजस रेग्मी, हास्य कलाकार विष्णु जी पाण्डेय (माइला बा), दोहोरी गायिका रेखा बुढाथोकी र आधुनिक गायिका जमुना बिसी, लोक गायक सुमन गैरेले प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रममा छमछम कला केन्द्र, साइनिङ् स्टार डान्स एकाडेमीको नृत्य तथा कर्णाधार माध्यमिक विद्यालय र विक्रम आधारभूत विद्यालयको नृत्य प्रस्तुत गरिएको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि अर्थात फागुन ३ गते शनिबार गायिका ज्योति मगर, लोकपप गायक अर्जुन कौशल, लोकदोहोरी गायक मोहन खड्का, पाल्पा लोक आइडल धनमाया दिशुवामगरको प्रस्तुती रहनेछ । यस्तै हास्य कलाकार नारायण खड्का। दमकडा समूहको झ्यारे, शौभाम्य कला केन्द्र चिदीपानी र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक प्रस्तुती हुने सहसंयोजक लाेकेन्द्र थापाले जानकारी दिनुभयो ।

दुई दिनमा ९० लाखको कारोबार
महोत्सवको पहिलो र दोस्रो दिन गरी करिब ९० लाखको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा कृषि सम्बन्धी २५, पर्यटन सम्बन्धी दश, लत्ताकपडा सम्बन्धी ५०, घरेलु तथा साना उद्योागका दश, बैंक तथा संघसंस्थाका २०, तथा अन्य राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टल रहेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्टलमा दमकडा माविका विद्यार्थीहरुले तयार गरेको भावी माडीको रुपरेखा दर्शकका लागि आकर्षक बनेको छ । यस्तै पाल्पाका घरेलु उद्योगको रुपमा बिस्तार भएका फलामका औजार, तरकारी, मौरीका स्टलमा समेत सहभागीको भीड लागेको छ । ग्रामीण क्षेत्रमा पनि मेला महोत्सवको सम्भावना भएकाले यो पटक सहर उन्मुख क्षेत्र माडीको दमकडामा पाल्पा महोत्सव गरिएको आयोजकले जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले ग्रामीण क्षेत्रमा गरिएको महोत्सवले बजारमा पुगेका मानिसलाई गाउँमा फर्काउन सहयोग गर्ने बताउनुभयो ।


रिब्दीकोटलाई पर्यटन र कृषिमा नमूना बनाउँछौँ : अध्यक्ष जिसी
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले रिब्दीकोट गाउँपालिकाले गरेका पर्यटन र कृषि सम्बन्धी कामको प्रस्तुती राख्नुभयो । महोत्सव अबधिभर दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले गाउँपालिकाको चिनारी राख्ने कार्यक्रम अन्तर्गत रिब्दीकोट गाउँपालिकाका अध्यक्ष जिसीले महोत्सवमा सहभागीलाई गाउँपालिकाको परिचय सहित जनप्रतिनिधिले अघि सारेका कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिकालाई पर्यटन र कृषि उत्पादनको नमूना गाउँ बनाउने बताउनुभयो । उहाँले पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने, पुराना ऐतिहासिक स्थलको संरक्षण गर्ने काममा गाउँपालिकाले ध्यान दिएको जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्थ गरेको जानकारी दिनुभयो । अध्यक्ष जिसीले किसानलाई आवश्यक हाते ट्रयाक्टर, मल बिउ तथा तालिममा समेत गाउँपालिकाले सहयोग गरेको महोत्सवका अवसरमा भनाई राख्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update