Erani Mahal
भ्यालेन्टाइन डे : प्रेमसाट्न रानीमहलमा प्रेमजोडीहरु
unnamed-1

पाल्पा– आज फेवु्रअरी १४ अर्थात प्रेम दिवश, जुन दिन हजारौं प्रेमीहरुले आफ्ना प्रेम र माया साटासाट गर्ने गर्दछन् । यस्तै प्रेमजोडीहरुको लागि उत्कृष्ठ गन्तव्यमा रहेको पाल्पाको रानीहलमा समेत सयौं प्रेमी जोडीहरु पुग्ने गर्दछन् ।


तत्कालिन पाल्पा गौडाका राजा खड्कशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहलमा यस दिन सयौं युगल जोडीहरु प्रेम साटासाट गर्न र युगौं युगसम्म संगै बाँच्ने र सँगै मर्ने कसम खान पुग्दछन् ।


पाल्पाको रानीमहललाई अहिले स्थानीय सरकार, प्रदेश र केन्द्र तीनबटै तहको सरकारको सहयोगमा गुरुयोजना बनाएर आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।
रानीमहलमा अहिले विहान देखि नै पाल्पा गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन लगायत देश तथा विदेशबाट समेत प्रेमजोडीहरु घुम्न पुगेका हुन्छन् ।


पाल्पाको रानीमहलमा संरचना भएपनि उचित व्यवस्थापन र पूर्वाधारको विकासमा ध्यान नदिदा धेरै प्रेमजोडीहरु निरास भएर फर्किने गर्दछन् तै पनी यहाँ दैनिक १ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गर्दछन् ।


केही समय पहिले जीर्ण रहेको रानीमहलको रंगरोगन र मर्मत संभार पछि चिटिक्क पारिएको छ, जसले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । यस्तै रानीमहल नजिकै स्याङ्जा जोड्ने पक्की पुल समेत निर्माण सम्पन्न भएको छ जसले यहाँ आउन थप सहजता भएको छ ।


पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर उत्तर काली नदी किनारामा अवस्थित रानीमहल धार्मिक दृष्टिकोणबाट समेत उत्तिकै महत्वपूर्ण स्थानको रुपमा रहेको छ । हिन्दुधर्मावलम्बीहरुले उत्तरवाहिनी गंगाको रुपमा स्नान गरेमा पुण्यआर्जन हुने जनविश्वास रहेको छ ।

विश्वभरका मायालु जोडीहरु आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन–डे मनाइरहेका छन्। आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस दिन विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन्।

नेपालमा पनि केही वर्षयता प्रेम दिवस विशेष रुपले मनाउन थालिएको छ। यो दिन प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा प्रपोज दिने दिनका रुपमा पनि लिइने गरेको छ। भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ। यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ।

तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए। तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए। उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए।

सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ। उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो।

सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update