Erani Mahal
पाल्पा महाेत्सव सुरू : उद्घाटन समाराेह भव्य
21

पाल्पा – जिल्लाको दमकडामा बिहिबारदेखि ‘पाल्पा महोत्सव’ सुरू भएको छ । पाल्पा व्यापार संघको आयोजनामा सञ्चालन भएको महोत्सवको प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । उद्घाटन समाराेह भव्य भएकाे आयोजकले दावी गरेकाे छ । महाेत्सवकाे पहिलाे दिन हजाराैं मानिसहरू सहभागी भएका थिए ।

महोत्सवले अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने मन्त्री ढकालले बताउनुभयो । विषादीयुक्त खाद्यवस्तुले मानिसलाई रोगले ग्रस्त पारेको छ उहाँले भन्नुभयो यस्ता मेला महोत्सवका अवसरमा अर्गानिक चिजवस्तुको उत्पादनमा सहयोग पुग्ने गरी कार्यक्रम गर्नुपर्छ ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य रमा घर्ती, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, व्यापार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, नेकपा जिल्लाका नेता धनेन्द्र घिमिरे, कमल पाण्डे, नेपाली काँग्रेसका सचिव अजय कर्माचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, गल्याङ व्यापार संघका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल लगायतले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।

संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बामदेव बश्यालले स्वागत र सचिव पर्शुराम पौड्यालले सञ्चालन गर्नुभएको थियो । यसअघि विभिन्न बाजागाजा सहित विभिन्न सँस्कृति झल्किने झाँकी, ¥यालीले दमकडा बजार परिक्रमा गरेको थियो । विभिन्न ठाउँका ७२ वटा समूहबाट करिब ५ हजार मानिसको ¥यालीमा सहभागीता रहेको प्रचारप्रसार उपसमितिका संयोजक रेखीराम रानाले बताउनुभयो ।

‘पाल्पाको समृद्धिको आधार : कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ सुरू भएको महोत्सव ११ गतेसम्म चल्ने छ । महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन् । पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवा लगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्रीका स्टल रहेको संघका अध्यक्ष पोखरेलले बताउनुभयाे ।


लोपन्मुख जातजातिका कला सँस्कृति झल्किने प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकारको समेत दैनीक प्रस्तुती रहने छ । यस्तै महोत्सवमा स्थानीय सँस्कृति झल्किने घाटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयो ।


झण्डै एक लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । भने करिब ७० लाख आम्दानी हुने छ । ४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताउनुभयो ।

महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भने जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निशुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले बताउनुभयो ।


महोत्सवको दोस्रो दिन भोलि अर्थात् शुक्रबार लोकदोहोरी गायक तेजस रेग्मी, रेखा बुढाथोकी, जमुना विसी, हास्यकलाकार माइला बा, साथै विभिन्न विद्यालयहरुको नृत्य प्रतियोगिता प्रस्तुत हुने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update