Erani Mahal
नेपाल कोरोना भाइरसबाट प्रभावित छैन : स्वास्थ्य मन्त्री ढकाल
marti-dhakal-2

पाल्पा– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रचार भएजस्तो नेपाल कोरोना भाइरसबाट प्रभावित नभएको बताउनुभएको छ । नेपालमा हालसम्म एक जनालाई पनि कोरोना भाइरस सङ्क्रमण नदेखिएको भन्दै उहाँले तर सङ्क्रमण हुने सम्भावनालाई हेरेर सरकारले आवश्यक तयारी गरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रि ढकाल


पाल्पा व्यापार सङ्घद्वारा बिहीबारदेखि दमकडामा आयोजित प्रथम पाल्पा महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले छिमेकी चीनमा रहेका नेपालीलाई समेत समेत कोरोनाको सङ्क्रमण नभएको जानकारी दिनुभयो । चीनमा रहेका नेपालीमा समेत कोरोनाको सङ्क्रमण छैन मन्त्री ढकालले भन्नुभयो १८ जना नेपालीमा परीक्षण गरिएकोमा कोही पनि सङ्क्रमित भेटिएनन् ।


मन्त्री ढकालले वर्तमान सरकारले सुनिने गरी होइन, देखिने गरी विकासको काम थालेको बताउनुभयो । यसअघिका जस्तो यो सरकार होइन उहाँले भन्नुभयो यो सरकारले अब देखिने गरी काम गरिरहेको छ । देशभर सरकारले ठूलाठूला विकासका आयोजनाहरू द्रुत गतिमा सम्पन्न गर्ने गरी अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो ।


मन्त्री ढकालले ६ महिना भित्र स्वास्थ्य क्षेत्रमा मन्त्रालयले उल्लेख्य परिवर्तन ल्याउने गरी काम गरेको बताउनुभयो । उहाँले सरकारले देशभरका अस्पताल तथा स्वास्थ्य चौकीलाई स्तरउन्नति गर्न, विमा कार्यक्रम र जनशक्ति व्यवस्थापनमा ध्यान दिएको बताउनुभयो ।

सहभागि अतिथिहरु ।


सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेको उल्लेख गर्नुहुँदै मन्त्री ढकालले महोत्सव तथा मेलाले सरकारले अघि सारेको पर्यटन वर्षलाई सफल बनाउन सहयोग पुग्ने विस्वास गर्नुभयो । कार्यक्रममा सङ्घीय सांसद सोमप्रसाद पाण्डेय, प्रदेश सभासद् रमा घर्ती, व्यापार सङ्घका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले महोत्सवले पाल्पाको कृषि, घरेलु तथा साना उद्योगमा उत्पादित बस्तुको प्रचारप्रसार एवं बिक्रीमा सहयोग पुग्ने विस्वास गर्नुभयो ।


व्यापार महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुने पाँच करोडको कारोबार हुने पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रमा गरिएको मेला महोत्सवले बजारमा पुगेका मानिसलाई गाउँमा पर्काउन सहयोग गर्ने बताउनुभयो ।


महोत्सवमा पाल्पाबाट उत्पादित कृषिजन्य बस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीका स्टल छन् । यस्तै राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री गरी दुई सय ५० स्टल छन् । महोत्सवमा स्थानीय कला संस्कृति झल्किने घाँटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुनेछन ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update