Erani Mahal
जनयुद्ध र जनआन्दोलनको जगमा नेपालमा परिवर्तन भएको छ : स्वास्थ्य मन्त्री ढकाल
j

पाल्पामा २५ औं जनयुद्ध दिवश मनाइयो
पाल्पा– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालमा परिवर्तनको बाटो खुलेको बताउनुभएको छ ।


नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) पाल्पाले आयोजना गरेको २५ औं जनयुद्ध तथा जनआन्दोलन दिवशको अवसरमा उहाँले विभिन्न समयमा भएका आन्दोलन र क्रान्तिको माध्यमबाट देशमा परिवर्तनसँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनुभयो ।


उहाँले देशको व्यवस्था परिवर्तनका लागि लड्ने र रगत बगाउने हजारौं शहिद, घाइते अपाङ्ग, बेपत्ता परिवारको योगदान राज्यले कहिल्यै भुल्न नहुने बताउनुभयो ।


देशमा कम्युनिष्ट सरकार भएको बेलामा शहिद, बेपत्ता, घाइते परिवारलाई आफ्ना परिवारको सदस्यको योगदानको मूल्याङ्कन हुने गरेर केन्द्रदेखि स्थानीय तहसम्म कार्य गर्ने समेत मन्त्री ढकालले बताउनुभयो ।


उहाँले दुई ठुला पार्टी एकता भएसँगै देशमा जनताको विकास र परिवर्तनको आशा पलाएको बताउँदै त्यो आशा र विश्वास गुम्न नदिन सबै कम्युनिष्ट सदस्य, जनप्रतिनिधि र सरकारले काम गर्नुपर्ने बताउनुभयो ।


नेकपाका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले शहिदले देखाएको मार्गमा विचलित नभइ काम गर्नुपर्ने बताउनुभयो । यस्तै अर्को केन्द्रीय सदस्य ठाकुर गैरेले जनयुद्ध, जनआन्दोलन र यसका उपलव्धीको रक्षागर्दै देश र जनताको पक्षमा पार्टीले काम गर्ने बताउनुभयो ।
नेकपा पाल्पाका अध्यक्ष तथा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले नेपाली परिवर्तन आन्दोलनका शहिदहरुलाई उच्च सम्मानका साथ काम अगाडि बढाइने बताउनुभयो ।


कार्यक्रममा प्रदेश सभा सदस्य पुरनमान बज्राचार्य, नेकपाका नेताहरु यादव बहादुर रायमाझी, धनेन्द्र घिमिरे, नेत्र पाण्डे, नारायणी शर्मा, जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


यस्तै जनयुद्ध दिवशको अवसरमा पाल्पाका १० वटै स्थानीय तहहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न कार्यक्रमहरु गरेको छ । अन्तरक्रिया, फलफुल वितरण, सभा लगायतका कार्यक्रमहरु गरेर जनयुद्ध दिवश मनाइएको नेकपा पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update