Erani Mahal
दिव्य ज्याेति नमूना माविमा चमेना गृह र बालउद्यान सञ्चालन
84721122_795597037602609_4827686563762667520_n

पाल्पा - जिल्लाको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयमा चमेना गृह र बाल उद्यान संचालनमा आएको छ । विद्यार्थी र अभिभावकको चाहना अनुसार विद्यालय हाताभित्रै ताजा नास्ता खुवाउने गरी चमेना गृह संचालनमा आएको छ ।

चमेनागृह निर्माणका लागि विद्यालयले व्यक्तिसँग सम्झौता गरी ८ लाख लगानीमा निर्माण गरेको हो । चमेना गृह बनाउन विद्यालयको कुनै पनि खर्च भएको छैन । यस्तै सामाजिक स्रोत विकास केन्द्र नेपालको १ लाख ५० हजार र विद्यालयको आन्तरिक स्रोत दुई लाख ५० हजार गरी चार लाख लगानीमा बाल उद्यान निर्माण भएको छ ।

बालबालिकालाइ खेल्दै सिक्न सहज हाेस् भनेर बाल उद्यान निर्माण गरिएकाे विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताउनुभयाे । बाल उद्यानमा चार वटा पिङ् र दुई वटा चिफ्लेटी छन् । यस्तै बालबालिकाको मनोविज्ञानमा सकारात्मक असर गर्ने खालका कार्टुनको चित्र समेत बनाइएको प्रअ अधिकारीले बताउनुभयो ।

चमेना गृह र बाल उद्यानको प्रदेश नम्बर ५ का सांसद नारायण आचार्यले उद्घाटन गर्नुभयो । सामुदायिक विद्यालयमा जंग फुड पूर्ण रुपमा निषेध गर्न चमेना गृहले सहयोग गर्ने उहाँले बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई सजिलोको लागि जस्तो पनि खाना खुवाउने प्रचलन रहेको भन्दै उहाँले अबदेखि विद्यालयको क्याण्टिनकाे नास्ता प्रयाेग गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।

शैक्षिक गुणस्तर राम्रो हुनको लागि संस्थाको प्रशासन राम्रो हुनुपर्ने जोड दिनुहुँदै उहाँले अभिभावक र शिक्षकबीच निरन्तर समन्वय भएका बालबालिकाको पढाई प्रभावकारी हुने बताउनुभयो । विद्यालय राम्रो बनाउन अभिभावक कम्तीमा हप्तामा एक पटक भएपनि विद्यालय पुगेर आफ्नो बच्चाको बारेमा जानकारी लिन उहाँले आग्रह गर्नुभयो ।

वडा नम्बर ३ का अध्यक्ष दीपक थापाले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताउनुभयो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीमगर र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माले शैक्षिक गुणस्तर राम्रो हुनको लागि भौतिक संरचनाले पनि प्रभाव पार्ने बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम रानाले अभिभावक, शिक्षक र विद्यार्थीबीच समन्वय भएमा विद्यालयको विकास र विद्यार्थी अध्ययन राम्रो हुने बताउनुभयो । यस्तै प्रदेश सरकारको सहयोगमा आधुनिक छात्रा शौचालय र संघीय सांसद दलबहादुर रानाकाे समन्वयमा नेपाल टेलिकम र विद्यालयकाे लगानीमा अत्याधुनिक कम्प्युटर ल्याब समेत निर्माण भएको विव्यसका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । नमुना विद्यालयको रुपमा छनोट भएको दिव्यज्योति विद्यालयमा हाल १ हजार २५ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update