Erani Mahal
रामपुरमा एक वडा एक उत्पादन :  तरकारीका विउ वितरण
da

पाल्पा - कृषि, पर्यटनको मुख्य नारा लिएर नगर समृद्धिमा जुटेको रामपुर नगरपालिकाले नगरका प्रत्येक वडालाई एक वडा एक उत्पादनबाट जोडेको छ । पहाडी र समथर भुमि रहेको रामपुर नगरपालिकाका वडामा हावापानी र सिंचाइको उपलब्धताका आधारमा तरकारीलाई स्थानिय उत्पादन संग जोडेर तरकारीको समृद्ध नगर बनाउने अभिप्रायले तरकारीका बीउ तथा वितरणलाई जोड दिएको जनाएको छ ।


१३२ बर्ग किलोमिटरमा पहाडी र समथर भुमिमा फैलिएको रामपुर नगरका १० वडामा कृषि प्राविधिकको सल्लाहमा विविध तरकारी नगदेवाली उत्पादनको पकेट क्षेत्र घोषणा गरेर उब्जाउमा लागेको हो ।

बाहिरबाट आयातित तरकारीलाई प्रतिबन्ध लगाउने गरि नगरपालिका अघि बढेको छ । गत पुषबाटै नगर बाहिरका तरकारीलाई प्रतिबन्ध लगाउने थालेको नगरले उत्पादन भन्दा आवश्यकता बढी भएपछी घर घरमा र समुहमा तरकारी खेती गर्न हौसाएको छ । अहिले धेरै भन्दा धेरै तरकारी लगाउन बीउ,बिरुवा,मल, औजार सहितका सामान सहयोग गरेका छौ, नगरप्रमुख थापाले भन्नुभयो-वडा छनौट गरि तरकारी पकेट क्षेत्रको अभियानमा लागेकोले अब उत्पादन पनि बढ्नेछ । किसानलाई खेती गर्ने ज्ञान सीप देखि बीउ बिजन र नियमित प्राविधिक सेवा दिन नगर कटिबद्व रहेको उहाले बताउनुभयो । नगरले वडामा उत्पादनशील कृषिउपज तथा पशुपालनको क्षेत्र निर्धारण गरेर एक वडा एक उत्पादनलाई बढाएको हो ।


स्थानिय तरकारी खेतीलाई प्रोत्साहन गर्दै नगरपालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउन रामपुर नगरपालिकाले वडा नं १ मा कागती, मौरी, अदुवा, वडा नं २ मा खुर्सानी, गोलभेँडा र बाख्रा,३ मा एभोकाडो, बाख्रा र आलु, वडा नं ४ मा काँक्रा, बाख्रा, बन्दा, बंगुर, वडा नं ५ मा गोलभेँडा, केरा र दूध निर्धारण गरेको छ। त्यस्तै वडा नं ६ मा आलु, मौरी, बाख्रा र केरा, ७ मा घिरौंला, करेला, कागती, कुखुरा, वडा नं ८ मा कुखुरा, सिमी, दूध र सुन्तला, वडा नं ९ मा कफी, अदुवा, बाख्रा र कुखुरा, १० मा सुन्तला, लिची, प्याज र दूध उत्पादनलाई मुख्य पकेट क्षेत्र छुट्याएर नगरले सोही अनुरुप कृषिमा जोड दिएको छ।

कृषि उत्पादनका हिसाबले पाल्पा जिल्लाकै उपयुक्त भूभाग रहेको रामपुरलाई नमूना कृषिका रुपमा चिनाउन र यसैबाटै आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन अभियान कार्यक्रम अगाडि बढाइएको थापाले बताउनुभयो ।


पकेट क्षेत्र निर्धारणपछि आवश्यक हावापानी, माटो अनुसारको खेती, खेती र रेखदेख, सहज र उत्पादन पनि बढ्ने अनुमान किसानको छ । सोही अभियान अनुसार रामपुर नगरपालिका वडा नम्बर ७ र २ ले एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत तरकारीका बीउ बितरण गरेको छ । कृषि उत्पादन गरी नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन वडा नं ७ को कार्यालयले घिरौला र करेलाका वीउ वितरण गरेको हो । प्रतिघर पाँच करेला र पाँच घिरौलाको विरुवा अनिवार्य रहने गरी किसानलाई विउ वितरण गरेको छ ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले एक वडा एक उत्पादनलाई मध्यनजर गर्दै नगरले कृषिलाई प्राथमिकता दिएको बताउनुभयो। उहाले भन्नुभयो- दु:ख गरेर तरकारी लगाएर यसैमा आत्मनिर्भर हुदै समृद्धि देखेका किसानलाई सहयोग गरेका छौँ सधै प्रोत्साहित गर्नेछौ।

वडामा रहेका १४ टोल विकास संस्थाका आठ सय ३१ घरलाई तरकारीको बीउ वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष दुर्गादेवी भण्डारी गौतमले बताउनुभयो । वडालाई तोकिएको तरकारी पकेट क्षेत्रमा पुर्‍याउन नगरपालिकाको सहयोगमा वडाले बीउ वितरण गरेको सहायक वडा सचिव गिता पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, रामपुर नगरपालिका वडा नं २ ले किसानलाई तालिम सहित तरकारीको बीउ दिदै आएको छ । एक वडा एक उत्पादनका लागि वडालाई खुर्सानी र गोलभेँडा पकेट क्षेत्रका रुपमा घोषणा गरेपछि वडाले तरकारी उत्पादन बढाउन किसानलाई तालिम दिएको वडाअध्यक्ष तारा बहादुर थापाले बताउनुभयो । यो वडा पहाडी भिरालो सहित समथर भुभागमा फैलिएको छ ।
कृषिका लागि उपयुक्त माटो छ,थापाले थप्नुभयो-जहाँ जे संभावना छ त्यसरी नै तरकारी फलाउन वडावासी लागेका छौ ।


किसानलाई नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय र प्राबिधिक सुशील अधिकारी, प्रज्वल के.सीले मौसमी तथा बेमौसमी तरकारी लगाउने प्रबिधि, नियमित रेखदेख र राम्रो उत्पादनको लागि ज्ञान सीप दिदै आउनुभएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update