Erani Mahal
महाेत्सव भव्य बनाउन विभिन्न पक्षसँग छलफल
84859104_223315352029850_1359320908249956352_o

पाल्पा – पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तानसेन–९, दमकडामा यही फागुन १ गतेदेखि ११ गतेसम्म हुन लागेको महोत्सव भव्य बनाउन मूल आयोजक समितिले विभिन्न क्षेत्रका नागरिक, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा व्यापारी व्यवसायीसँग छलफल गरेको छ ।


बुधबार माथागढीको सराईमा सरोकारवाला निकायसँग भएको छलफलमा पाल्पा व्यापार संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवि पोखरेलले महोत्सव सफल बनाउन सबैको सहयोग रहने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले तानसेनको मुख्य बजारले मात्र नभई पाल्पाको ग्रामीण क्षेत्रले पनि विकासको सम्भावना बोकेको छ भन्ने प्रमाणित गर्न दमकडामा महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । अब महोत्सव मुख्य बजारमा मात्र होइन, दमकडा, अर्गली, सराई सहित अन्य क्षेत्रमा पनि लगाउन सकिन्छ भन्ने देखाउनुपर्छ उहाँले भन्नुभयो ।


संघको व्यापार महोत्सवबाट ठूलो नाफा कमाउने भन्दा पनि माडी क्षेत्रमा विकासको पहिचान गर्न, पाल्पाका विभिन्न स्थानका कृषि तथा घरेलु पर्यटन उद्योगको प्रचार गर्नमा सहयोग पुग्ने बताउनुभयो । कृषि र पर्यटन प्रबर्दन गर्ने स्टललाई निशुल्क प्रवेशको अवसर दिने उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले माथागढी क्षेत्रमा उत्पादन भएका बस्तुको प्रचारका लागि संघ स्टल निशुल्क रुपमा राख्न तयार रहेको बताउनुभयो ।


कार्यक्रममा स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दिपक थापा, दिव्यज्योति माविका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, समाजसेवी खेमानसिंह राना, माउण्ट भ्याली बोर्डिङ् स्कुलका निर्देशक अशेष भट्टराई, सराई बजार व्यवस्थापन समितिका अध्यक्ष राजन बलाल, रुप्से स्वास्थ्य चौकीका प्रमुख यमबहादुर चिदी, लघु उद्यम विकास केन्द्रका निर्देशक वीरबिक्रम सु्नारले महोत्सव सफल बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सांस्कृृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले पाल्पाका विभिन्न जातजातिका लोपोन्मुख संस्कृति झल्कने नाच तथा गीत महोत्सवमा प्रस्तुत हुने जानकारी दिनुभएको थियो । संघले महोत्सव सफल बनाउन पाल्पाको दमकडा, मदनपोखरा, बगनासकाली, सराई, बाँसटारी लगायतका क्षेत्रका नागरिक तथा सरोकारवालासँग छलफल गरिसकेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update