Erani Mahal
पाल्पा महाेत्सवकाे तयारी कसरी हुँदैछ ?
82382022_10219071296886067_2187031208645361664_n

पाल्पा - पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवको तयारी तीव्र पारिएको छ । संघको आयोजनामा आगामी फागुन १ गतेदेखि ११ गतेसम्म दमकडामा हुन लागेको महोत्सवलाई भव्य बनाउन विभिन्न तयारी भईरहेको आयोजकले जनाएको छ ।

महोत्सव भव्य रुपमा सम्पन्न गर्न विभिन्न ३० भन्दा बढी उपसमितिले जिम्मेवारी अनुसारको काम गरिरहेको छ । यस्तै महोत्सव हुने स्थल दमकडास्थित संघसंस्थाले समेत जिम्मेवारी अनुसारको काम गरिरहेका छन् । शनिबार जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता, सांसद, पूर्वसांसद, उद्योगी व्यवसायीसँग छलफल भएको छ ।

छलफलमा सहभागी नेताहरुले पाल्पाको विकासमा सहयोग पुग्ने गरी आयोजना गरिएको महोत्सव सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए । यस्तै दमकडामा भएको छलफलमा विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले व्यापार महोत्सव सफल बनाउन र प्रचारप्रसारलाई तीव्र बनाउन सहयोग गर्ने र क्रियाशिल हुने बताएका थिए ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले अहिलेसम्म स्टल बुकिङ्को काम भईरहेको छ । यस्तै प्रचारप्रसारलाई तीव्र बनाउने, स्टल निर्माणको काम भईरहेको छ । महोत्सव भव्य बनाउन विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गर्ने काम पनि भईरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

महोत्सवले पाल्पाको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा हुने, विभिन्न स्थानीय तहमा उत्पादित कृषिजन्य बस्तुको पहिचान र बिक्री हुने अपेक्षा गरिएको छ । यस्तै पाल्पाका घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको बिक्री हुने, लोपोन्मुख कला संस्कृतिको जर्गेनामा सहयोग पुग्ने संघका सचिव पर्शुराम पौडेलले बताउनुभयो । महोत्सवमा दुई सय ५० बढी स्टल रहनेछ भने पाँच करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवको दुई लाख बढी दर्शकले अवलोकन गर्ने दावी आयोजकले गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update