Erani Mahal
तानसेनका पाँच आयोजनामा नीजि क्षेत्र लगानी गर्न इच्छुक
Palpa2

पाल्पा – तानसेनका ५ आयोजनाहरूमा नीजि क्षेत्र लगानी गर्न इच्छुक देखिएका छन् । तानसेन नगरपालिकाले अघि सारेको सार्वजनिक नीजि साझेदारी (सानिसा) कार्यक्रम अन्तर्गत तय भएका पाँच आयोजनामा नीजि क्षेत्र लगानी गर्न इच्छुक देखिएका हुन् ।

नगरपालिकाले पर्यटन क्षेत्रमा लगानी बढाउन सानिसा (सार्वजनिक नीजि साझेदारी) अबधारणा अघि सार्दै आठ वटा योजनामा दुई महिनाअघि आशयपत्र माग गरेको थियो । उक्त मागका आधारमा रानीमहल सञ्चालन तथा व्यवस्थापन गर्न दुई वटा नीजि संस्थाको आशयपत्र पेश भएको छ । रानीमहल केन्द्र सरकारले दुई वर्ष अघि १० वर्षका लागि तानसेन नगरपालिकालाई व्यवस्थापन गर्न जिम्मेवारी दिएको थियो ।

श्रीनगर सौन्दर्यकरण, सञ्चालन तथा व्यवस्थापन गर्न छ वटा र वातावरणमैत्री बसपार्क निर्माणमा गर्न तीन वटा संस्था इच्छुक देखिएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग भएर हिड्ने पर्यटकलाई मध्यनजर गर्दै अघि सारिएको हाइवे रिफ्रेसमेन्ट निर्माण तथा सञ्चालन गर्न दुई र फोहोर मैला व्यवस्थापन गर्न तीन वटा नीजि संस्थाको आशयपत्र पेश भएको थापाले बताउनुभयो ।

नगरपालिकाले अघि सारेको बुद्धमूर्ति (बीग बुद्ध), कोकलदेवी क्षेत्र विकास र नगर यातायात सेवा सञ्चालन योजनामा भने कुनै पनि व्यवसायीले आशयपत्र पेश गरेका छैनन् । तानसेन नगरपालिकाले तय गरेका वभिन्न आठ वटा चरण पार गरेपछि नीजि क्षेत्रसँग पर्यटन क्षेत्रमा लगानीका लागि सम्झौंता हुने नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

छनौटमा परेका व्यवसायीलाई विज्ञको टोलीले अभिमुखीकरण गर्ने, परियोजनाको निर्माण अबधि, नाफा तथा जोखिमको बाँडफाँड गर्ने र प्राविधिक तथा आर्थिक प्रस्ताव समेत माग गर्ने तयारी भईरहेको नगरप्रमुख शाहीले बताउनुभयो । नगरपालिकाले सानिसा गर्न लागेको सबै योजना पर्यटन विकाससँग सम्बन्धित रहेको नगरपालिकाको भनाई छ ।

रानीमहल, श्रीनगरडाँडा, हाइवे रिफ्रेसमेन्ट पर्यटनसँग सम्बन्धित योजना हुन् भने व्यवस्थित बसपार्क निर्माण र फोहोर मैला व्यवस्थापनले समेत पर्यटक आकर्षित गर्न सहयोग पु¥याउने योजना भएको नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले जानकारी दिनुभयो । यी पाँच योजनामा कति लगानी हुन्छ भन्ने निक्र्यौल भने छनौटमा परेका व्यवसायीले आर्थिक र प्राविधिक प्रस्ताव पेश गरेपछि थाहा हुनेछ । यद्यपी यी योजनामा करोडौँ लगानी हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले सम्झौँता अनुसार रेखदेख र सम्झौता कार्यान्वयनको अनुगमन गर्नेछ भने सम्बन्धित व्यवसायी सम्झौता अनुसार निश्चित अबधिभित्रमा निर्माण र व्यवसाय सञ्चालन गर्न पाउनेछन् । यो कार्यक्रम चलेपछि नगरपालिकालाई पनि आयोजनाको सञ्चालन गर्नुपर्ने आर्थिक भार कम हुनेछ भने नीजि क्षेत्रको पर्यटन विकासमा अपनत्व कायम हुनेछ ।

नगरपालिकाले जिम्मेवारी पाएका व्यवसायीसँग आयोजना स्थलमा आवश्यक पूर्वाधार सडक, खानेपानी, विद्युत् र सुरक्षाको उचित प्रवन्ध गर्न साझेदारी गर्न सक्नेछ । नीजि क्षेत्रसँग सहकार्य नगरी पर्यटन क्षेत्रमा विकास सम्भव छैन त्यसैले नगरपालिकाले सानिसा कार्यक्रम अघि सारेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update