Erani Mahal
पाल्पाली बरिष्ठ कलाकार बज्राचार्यको निधन
barma

पाल्पा– पाल्पाली बरिष्ठ कलाकार तथा समाजसेवी ब्रम्हशेखर बज्राचार्यको सोमबार बिहान निधन भएको छ ।


तानसेन बडिज्ञानटोल निवासी ८९ बर्षिय बज्राचार्यको उपचारको क्रममा तानसेन स्थित युनाइटेड मिशन अस्पतालमा निधन भएको छिमेकी तथा ज्ञानमाला संघ, आनन्दबिहारका निवर्तमान अध्यक्ष बिनयराज बज्राचार्यले जानकारी दिनुभयो ।


पुरोहितका रुपमा समेत परिचित ब्रम्हशेखर गायक तथा तलबा बाधक पनि हुनुहुन्थ्यो । उति बेला महिलाहरु नाँचगान गर्नु हुदैन भन्ने मान्यता तोड्न तानसेनका जात्राहरुमा महिलाको भेषमा नृत्य गर्ने कालाकारका रुपमा समेत उहाँलाई धेरैले चिन्ने गरेको पाल्पा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


तानसेनको भबिश्य र बिकास प्रति निकै चिन्तित ब्रम्हशेखर कला र संस्कृति संरक्षणमा सधै अगाडी रहेको श्रेष्ठको भनाई छ । हराएको भजन जोगाउन उहाँकै नेतृत्वमा केही बर्ष अघि तानसेन भजन संरक्षण समितिको गठन भएपछि अहिले हरेक शनिवार भगवती मन्दिर प्राङगढमा भजनकृतन गाउने अगुवा समेत हुनुहुन्थ्यो ।


तानसेन स्थित ज्ञानमाला संघ, आनन्दबिहारका पूर्ब उपाध्यक्ष, धर्मचक्रमहाबिहारको चुडाकर्म व्रतबन्ध संघका दोस्रो पुजारी समेत रहनुभएका बज्राचार्यका दुई छोरा, बुहारीहरु र चार नाति नातिनी रहेका छन् । उहाँको पार्थीव शरीरलाई सोमबार दिउँसो राम्दीघाटमा अन्त्येष्टी गरिएको छ ।


पाल्पाली बरिष्ठ कलाकार बज्राचार्यको निधनप्रति तानसेन लगायतका विभिन्न संघ संस्थाले समवेदना व्यक्त गरेका छन् । सामाजिक संजाल तथा विज्ञप्ती मार्फत बज्राचार्यको निधनले सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update