Erani Mahal
रामपुरमा जारी 'तेस्राे मेयर कप'काे उपाधि वडा नं. ६ लाई
83817445_467318150819430_7711106363941715968_n

पाल्पा - रामपुरमा चलेको तेस्रो मेयर कप अन्तर्गत सर्वाधिक राशीको वडा स्तरीय पुरुष फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ । उपाधिको लागि वडा नं. ५ र वडा नं. ६ बीच भएको खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा ३–० ले पराजित गर्दै वडा नं. ६ ले उपाधी जितेको हो ।

निर्धारित समयमा दुवै समुहबाट १/१ गोलले खेल बराबरी भएपछि तोकिएको समयमा थप गोल हुन सकेको थिएन । अन्ततः खेल ट्राइब्रेकरमा गएको थियो । यस संगै वडा नं. ५ उपविजेता बनेको छ । तृतिय पुरस्कारको उपाधी वडा नं. ७ ले पाएको छ । ‘‘उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान’’भन्ने नाराका साथ रामपुर ७ किसानबारीमा भएको तेस्रो मेयर कप अन्तर्गत विभिन्न ७ विधामा खेल भएका थिए ।

वडा स्तरिय पुरुष भलिबल र वडा स्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधी वडा नं. १ ले जितेको छ । भलिवलमा महिला पुरुष दुवै तर्पmको पुरस्कार वडा नम्बर १ ले हात पारेको हो । शनिबार भएको पुरुष भलिवल फाईनल खेलमा वडा नं. २ लाई ३–१ सेटले पराजित गर्दै वडा नं. १ ले प्रथम उपाधी जितेको हो ।

खेलको पहिलो, तेस्रो र चौथो सेट वडा नं. १ ले २५–१४, २५–२२ र २५–१८ अंक र दोस्रो सेट वडा नं. २ ले २५–१९ अंक बटुलेका थिए । गत वर्षको भलिवल खेल विजेता वडा नं. २ ले यस बर्ष द्धितिय स्थानमा चित्त बुझाएको छ । तृतिय स्थानको लागि भएको खेलमा वडा नं. ५ ले वडा नं. ३ लाई २–१ सेटमा पारजित गर्दै उपाधी हात पारेको छ । पहिलो र तेस्रो सेट २५–१९, २५–२१ सहित वडा नं. ५ र दोस्रो सेट २५–१८ मा वडा नं. ३ थियो ।

प्रतियोगिता अन्तर्गत भएको प्रथम उपमेयर वडा स्तरिय महिला भलिबलको उपाधी यस बर्ष पनि वडा नं. १ ले जितेको हो । फाइनल खेलमा वडा नं. १० लाई २–१ सेटले पराजित गर्दै वडा नं. १ ले रनिङ्ग शिल्ड जित्न सफल भएको हो । खेलको पहिलो सेट २५–१९ अंक बटुलेको वडा नं. १० लाई लगातार दोस्रो र तेस्रो सेटमा २५–२३ र २५–२१ ले वडा नम्बर १ ले पछि पा¥यो । यस संगै महिला भलिवलमा वडा नं. १० उपविजेता बनेको छ ।

तृतिय स्थानका लागि भएको खेलमा वडा नम्बर ४ ले वडा नम्बर ९ लाई ३–२ सेटमा पराजित गर्न सफल भयो । त्यस्तै वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ ले, वडा स्तरीय रसी तान्ने प्रतियोगिताको उपाधी वडा नं. ५ ले र वडा स्तरीय सट पुट प्रतियोगिताको उपाधी वडा नं. ७ ले हात पारेको छ भने १० किलोमिटर खुल्ला म्याराथनमा वडा नम्बर ३ का सन्दिप श्रेष्ठ विजेता बन्न सफल भएका थिए ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा सञ्चालित मेयर कप अन्तर्गत मटेरीमा चलेको वडा स्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नम्बर ४ र वडा नम्बर ७ प्रतिस्पर्धामा थिए । व्याटिङ्गको निम्तो पाएको वडा नं. ४ ले १५ ओभरको खेलमा सविर अलीको ४२ रनको योगदानमा वडा नं. ७ लाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसको जवाफी व्याटिङ्गमा वडा नं. ७ ले ९ विकेटको क्षतिमा १ सय ५ रनमा सिमित भयो । खेलमा वडा नं. ७ का विजय श्रेष्ठले ३ ओभरमा ३ विकेट लिन सफल भएका थिए ।

यस संगै वडा नं. ७ उपविजेता भएको छ । फेयर प्लेयर अवार्ड नं. ५ ले प्राप्त गरेको छ । त्यस्तै मेयर कप अन्तर्गत रसी तान्ने प्रतियोगितामा प्रथम वडा नं. ५ का गणेश बंशीको समुह, द्धितिय वडा नं. ३ का श्याम मल्लको समुह र तृतिय वडा नं. ७ को समुह भएको छ । सट पुट तर्फ प्रथम वडा नं. ७ का अर्जुन राना, द्धितिय वडा नं. ५ का देव बहादुर कुमाल, तृतिय वडा नं. ७ का विरजुन राना भएका छन् ।

खुल्ला व्याटमिन्टन प्रतियोगिता तर्फ भानु वंशी र शंकर खाँण प्रथम, हरि सिंह र कमल खाँण द्धितिय, शिव श्रेष्ठ र जगत थारु, देव श्रेष्ठ र नविन भट्टको जोडी तृतिय भएको छ । यस्तै तेस्रो मेयर कप अन्तर्गत भएको खुल्ला म्याराथुन प्रतियोगिताको उपाधी रामपुर ३ का सन्दिप श्रेष्ठले जिते । रामपुर ६ का मनोज क्षेत्री द्वितिय, रामपुर ६ का सुरेश कुमाल तृतिय र रामपुर २ का सागर कुमाल सान्त्वना भए ।

माघ १५ गते देखि सुरु भएको प्रतियोगिताको समापनमा विजयी समुह तथा उत्कृष्ट खेलडीलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगद सहित रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । पुरस्कार बितरण गर्नुहुदै नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलको माध्यमबाट समाज विकास र युवामा अनुशासन बढेको बनाउदै खेल र खेलाडीको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।

उत्कृष्ट प्रशिक्षकबाट नगरका खेलाडीलाई तालिम दिलाउने गरि नगरपालिका अगाडी बढेको उहाँले बताउनुभयो । प्रतियोगितामा अन्तर्गत पुरुष फुटबल तर्फ प्रथम, द्धितिय र तृतीयले नगद ६० हजार,४० हजार र २५ हजार, वडास्तरीय पुरुष भलिबल र उपमेयर कप महिला भलिवल तर्फ प्रथम, द्धितिय, तृतीयले समान क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् ।

वडास्तरीय क्रिकेटमा प्रथमले ३५ हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार, खुल्ला व्याडमिन्टनमा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गरेका छन् । रसी तान्ने खेलमा प्रथमले १० हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार, खुल्ला म्याराथन र सटपुट प्रतियोगितामा समान रकम प्रथम ५ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार ट्रफी मेडल सहित प्रमाण पत्र प्राप्त गरे ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update