Erani Mahal
मालपाेत कार्यालय पाल्पामा सेवाभन्दा पहिले 'टाेक्कन' लिन आउनुहाेस् !
malpot-office-palpa-1

पाल्पा – मालपोत कार्यालय पाल्पाको बडापत्रमा जुनसुकै सेवा लिन एक घण्टा समय लेखिएको छ । तर मालपोत कार्यालयको एक घण्टामा होइन १२ दिनपछि मात्र पाइन्छ । कर्मचारी अभावले मालपोत कार्यालय पाल्पाले बडापत्रमा भनेअनुुसारको सेवा दिन नसकेकाे बताउँदै आएकाे छ ।

एक घण्टामा हुने कामका लागि १२ दिनपछि पनि दुई/तीन पटकसम्म धाउन बाध्य भएको मालपोत कार्यालय पाल्पामा सेवा लिन आएका सेवाग्रहीको गुनासो छ । कर्मचारीको अभावले दैनिक सेवा दिन नसकेपछि १२ देखि १५ दिनपछि आउने दिनको टोक्कन मालपोत कार्यालय पाल्पाले वितरण गरेकाे जनाएकाे छ । यद्यपी सेवाग्राहीले भने कर्मचारी अभावले हाेइन, विभिन्न बहानामा सेवाग्राहीकाे काममा ढिलाइ हुँदै आएकाे बताउँदै आएका छन्र ।

कार्यालयमा १९ जना कर्मचारीको दरबन्दी छ तर १२ जना मात्र कर्मचारी छन् । सात जना कर्मचारी दरबन्दी परिपूर्ति नहुँदा सेवाग्रहीलाई टोक्कन दिएर फर्काउनु परेको कार्यालयले जनाएको छ । “दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्रहीलाई टोक्कन दिएर फर्काउन बाध्य छौँ कार्यालयका सूचना अधिकारी रमेशप्रसाद न्यौपानेले भन्नुभयो दैनिक ६०/७० जना सेवाग्रही आउँछन् तर सबैको काम गर्न सकिदैन ।

कार्यालयले दैनिक सरदरमा २० जना सेवाग्रहीको मात्र काम गर्ने योजना अनुसार २० वटा टोक्कन वितरण गर्दै आएको छ । बाँकी ४०/४५ जनालाई १२ देखि १५ दिनपछि सेवा लिन आउने दिन तोकेर टोक्कन दिइन्छ । कर्मचारी नहुँदा अनलाइन प्रणालीमा काम गर्न झनै समस्या भएको कार्यालयका कर्मचारीको भनाई छ ।

सेवाग्रहीले भने एक घण्टामै हुने कामका लागि पटक–पटक सदरमुकाम तानसेन धाउनुपरेको भन्दै गुनासो गर्दै आएका छन् । एक घण्टामा हुने काम भनेर बडापत्रमा लेखिएको छ तर टोक्कन लिएर फर्कनु परेको सेवाग्रहीको भनाई छ । रैनादेवी छहरा–१, सिद्धेश्वरका ज्ञानबहादुर विकले कार्यालयमा १२ बजे आएपनि आफूले १५ दिनपछिकाे टोक्कर पाएको बताउनुभयो । एउटै घरको सम्पत्ति अंशवण्डा गर्न दुई÷तीन पटक तानसेन आउँदा पाँच/छ हजार खर्च भएको उहाँले गुनासो गर्नुभयो ।

कर्मचारी अभाव र दक्ष कर्मचारी नहुँदा सेवाग्रहीलाई पटक–पटक फर्काउँदा लेखापढी व्यवसायी पनि असन्तुष्ट छन् । नेपाल लेखापढी व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष कृष्णप्रसाद पाण्डेले कम्प्युटर अपरेटर पदमा कर्मचारी नहुँदा बढी समस्या भएको बताउँदै सरकारले तत्काल कर्मचारी खटाउनुपर्ने बताउनुभयो । अनलाइन प्रणाली सेवाग्रहीका लागि राम्रो र सह्रानीय काम भएपनि सरकारले सबै तयारी पूरा गरेर सेवा दिनुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update