Erani Mahal
पाल्पामा किबी खेती सफल : पूर्वखाेलामा व्यावसायिक खेती सुरू
Kibii

पाल्पा – जिल्लाको पूर्वखोलास्थित जल्पामा परीक्षणका रुपमा गरिएको किवी खेती सफल भएको छ । जिल्लामै पहिलो पटक जल्पाको ढोलीमारामा परीक्षणका रुपमा गरिएको किवी खेती सफल भएको हो ।

नेपालको पूर्वतर्फका पहाडी जिल्लाहरूमा किवीको व्यावसायिक खेती गरिएपनि पाल्पामा पहिलो पटक परीक्षण गर्न जल्पा र ओलेसमा किवीको खेती गरिएको थियो । चार वर्षअघि लगाइएको एक सेट (एक भाले र नौँ पोथी) किवीको बिरुवाले गत वर्षदेखि उत्पादन दिएको पूर्वखोला–२, ढोलीमाराका स्थानीय किसान भीमबहादुर सारुले बताउनुभयो ।

चार वर्षअघि कबुलियती वन कार्यक्रममार्फत एक सेट हेवार्ड जातको किवीको बिरुवा पाएका थियौँ सारुले भन्नुभयो गत वर्ष फल देखिएको थियो, यो वर्ष राम्रै फलेको छ । उहाँले यो वर्ष एक सेट बिरुवाबाट ६०/७० किलो किवीको फल फलेको बताउनुभयो । किवी खेतीका बारेमा सुन्दै आएपनि पाल्पामा खेती सफल हुन्छ भन्ने लागेकै थिएन ढोलीमाराका स्थानीय बासिन्दा भुवन बाह्रघरेले भन्नुभयो अहिले राम्रो फलेको देख्दा खुसी लागेको छ ।

जल्पाकाे ढाेलीमारामा किसानले लगाएकाे किबी ।

किवीको खेती सफल भएपछि गाउँपालिकाले समेत जल्पाको ढोलीमारा, मैदान र साठीकोललाई पकेट क्षेत्र बनाउने योजना अघि सारेको छ । पूर्वखोला गाउँपालिकाले जल्पाको तीन वटा गाउँलाई किवीको पकेट क्षेत्र बनाउन बजेट विनियोजन गरेर काम अघि बढाएको गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो ।

किवीको पकेट क्षेत्रको रुपमा विकास गर्न चालु आव २०७६/०७७ मा दुई लाख बजेट विनियोजन गरेको र अर्को वर्ष बजेट बढाउँदै लैजाने उहाँले बताउनुभयो । गाउँपालिकाले १० सेट हेवार्ड जातको किवीको बिरुवा वितरण गरिसकेको छ । खाल्डो खन्न, मल किन्न समेत किसानलाई अनुदान दिइने गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कँडेलले जानकारी दिनुभयो ।

किवी खेतीका लागि उत्तरतर्फ फर्किएको एक हजार दुई सय देखि दुई हजार मिटर उचाईको जग्गा उत्तम मानिन्छ । पाल्पाको अधिकांश भूभागमा किवी खेतीका लागि उत्तम रहेको कृषि प्राविधिक कँडेलले बताउनुभयो । बजारमा अहिले प्रतिकिलो किवीको चार सयदेखि आठ सय रुपियाँ पर्ने गरेको छ । पाल्पाकाे माथागढी ३ स्थित ओलेसमा पनि किबी खेती गरिएकाे छ ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update