Erani Mahal
आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै तानसेन नगरपालिका
kkh

पाल्पा – तानसेन भित्रका शैक्षिक संस्थामा स्थानीय पाठ्यक्रम लागू गर्न सरोकारवाला निकायसँग छलफल गरिएको छ । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने उद्देश्यले तानसेनभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा सम्बद्ध सरोकारवाला निकाय, जनप्रतिनिधिसँग स्थानीय पाठ्यक्रम निर्माण समितिले छलफल र सुझाव संकलन गरेको हो ।

छलफलमा अधिकांश सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूले २० प्रतिशत स्थानीय पाठ्यक्रम लागू गर्न सकिने सुझाव दिनुभएको छ । हाल विद्यालयमा स्थानीय पाठ्यक्रमको सट्टामा पठनपाठन भईरहेको अंग्रेजी र कम्प्युटर विषयलाई पूर्ण रुपमा हटाउन नहुने सहभागीहरूले नगरपालिकालाई सुझाव दिएका छन् ।

कार्यक्रममा तानसेन वडा नं. १ र ३ को तर्फबाट सुझाव राख्नुहुँदै शिक्षक महासंघका पूर्व अध्यक्ष विष्णु पोखरेलले अभिभावकको माग र समयको आवश्यकता अनुसार हाल पठनपाठन गरिएको अंग्रेजी भाषा र कम्प्युटर विज्ञानलाई यथावत राख्नुपर्ने बताउनुभयो । उहाँले १–५ मा अंग्रेजी र ६–८ मा कम्प्युटर विषय नहटाई २० प्रतिशत कला, सम्पदा, संस्कृति पर्यटनका विषय समेटेर पाठ्यक्रम बनाउन सकिने धारणा राख्नुभयो ।

तस्विर : गाेविन्द भट्टराइकाे फेसबुक पेजबाट ।

यस्तै तानसेन वडा नं. ७ को तर्फबाट सुझाव पेश गर्नुहुँदै सरस्वती माविका प्रधानाध्यापक शंकर पाैडेलले कम पूर्णाङ्कको स्थानीय पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालय र स्थानका आधारमा पाठ्यक्रम स्वच्छिक रुपमा कार्यान्वयन गर्न सकिने बताउनुभयो । यस्तै वडा नं. ५ को तर्फबाट लक्ष्मी माविका प्रधानाध्यापक युवराज पंगेनीले स्थानीय पाठ्यक्रममा ५० प्रतिशत स्थानीय पर्यटन, स्थानीय कला संस्कृतिलाई समेट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ६ को तर्फबाट सेन माविका प्रधानाध्यापक कृष्ण मल्लले सुझाव राख्नुभयो । मल्लले स्थानीय पाठ्यक्रम बनाउँदा हाम्रो मौलिक स्थानीय कुरा बेच्छौँ भन्दा आफैँ नबिक्ने अवस्था आउन दिन नहुने बताउनुभयो । तानसेन वडा नं. ४ को तर्फबाट सुझाव राख्नुहुँदै मोहनकन्या माविका प्रधानाध्यापक चोलप्रसाद ज्ञवालीले स्थानीय पाठ्यक्रममा पर्यटक, कला संस्कृति विषयलाई समेट्नुपर्ने बताउनुभयो ।

यस्तै संस्थागत विद्यालयहरुको तर्फबाट गंगा खत्रीले संस्थागत विद्यालयहरूले हाल स्थानीय पाठ्यक्रम अन्तर्गत पठाईरहेको कम्प्युटर विषय समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । खत्रीले २० प्रतिशत स्थानीय पाठ्यक्रममा स्थानीय भेषभूषा, कला संस्कृति लगायतका विषय समेट्न सकिने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले आगामी शैक्षिक सत्रदेखि तानसेन नगरभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको बताउनुभयो । उहाँले सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा स्थानीय पाठ्यक्रम एकीकृत रुपमा लागू गर्ने बताउनुभयो ।

जनप्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेले स्थानीय पाठ्यक्रम लागू गर्न ढिलाई भएको भन्दै सबैलाई समेटेर छिटटै लागू गर्नुपर्ने बताउनुभयो । जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश ज्ञवालीले स्थानीय विषयबस्तु समेट्दा विश्वव्यापी विषयबस्तुलाई गौण मान्न नहुने बताउनुभयो ।

पत्रकार एवं दिव्यज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले सबै सरोकारवाला निकायले सहकार्य र अपनत्व लिन सक्ने गरी २० प्रतिशत स्थानीय पाठ्यक्रम लागू गर्न सुझाव दिनुभयो ।

कार्यक्रम पाठ्यक्रम निर्माण समितिका सदस्य तीर्थ गौतमको स्वागत, पाठ्यक्रम निर्माण समितिका संयोजक एवं तानसेन वडा नं. १० का अध्यक्ष लोचनप्रसाद तिमिल्सिनाको अध्यक्षता र शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख न्यौपानेले स्थानीय पाठ्यक्रममा समेट्न सकिने विषय, सुझाव र कार्यान्वयनका सन्दर्भमा धारणा राख्नुभएको थियो । पाठ्यक्रम निर्माण समितिका संयोजक तिमिल्सिनाले यसअघि विभिन्न वडा तहमा समेत पाठ्यक्रम निर्माणका सन्दर्भमा छलफल भएको र पाठ्यक्रम निर्माण पछि पाठ्यपुस्तक समेत निर्माण गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update