रिडीकाे संक्रान्ति मेलामा हजाराैँ सहभागी

रानीमहल संवाददाता || १ माघ २०७६,बुधबार १९:४५
पाल्पा – नेपालको चार धाममध्ये एक रुरु धाम (रिडी)मा स्नान गरी नजिकै रहेको ऋषिकेश मन्दिरको दर्शनमा हजारौँ भक्तजन सहभागी भएका छन् । हिन्दु धर्मालम्बीहरू आस्थाको केन्द्रको रुपमा स्थापित रुरु (रिडी) क्षेत्रमा माघे संक्रान्तिको पहिलो दिन बुधबार हजारौँ भक्तजनहरू ओर्लिएका थिए ।
पाल्पा गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा माघे संक्रान्तिको पहिलो दिन नदीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गर्न आउने र जाने क्रम चलिरहेको छ । विगतका वर्षमा जस्तै माघे संक्रान्तिको पहिलो दिन हजारौँ भक्तजनहरू नदीको किनारमा पुगेर स्नान कार्य गरेर ऋषिकेश मन्दिरको दर्शनमा सहभागी भएका थिए ।

बुधबार बिहान ४ बजेदेखि नै रिडी क्षेत्रमा भक्तजन आउने र जाने क्रम जारी रहेको र पाँच दिनसम्म सक्रान्ति मेला लाग्ने स्थानीय बासिन्दाको भनाई छ । रिडीस्थित कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्न पाल्पा, गुल्मी स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, पर्वत, नवलपरासी, रुपन्देही, लगायतका जिल्ला तथा भारतबाट समेत श्रद्धालुहरू रिडी क्षेत्र धाममा आउने क्रम जारी छ ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महŒवपूर्ण मानिन्छ । यस क्षेत्रको धार्मिक र सांस्कृतिक रुपमा महिमा नेपाल बाहिर पनि उत्तिकै छ । नेपालका चार धाम मध्ये एक धाम र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले रुरु क्षेत्र निकै महत्वपूर्ण रहेको स्थानीय बासिन्दाको भनाई छ ।
माघे संक्रान्तिको दिन कालीगण्डकीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा मानिसहरूले आफूले अञ्जानमा गरेका सम्पूर्ण पापबाट मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने जनविस्वास छ । कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषि ऋण समेत तिरिने धार्मिक विश्वासका कारण हजारौं भक्तजनहरू माघे संक्रान्तिको अवसरमा यस क्षेत्रमा आउने प्रचलन रहेको छ ।
स्थानीय सामग्रीको बिक्रीवितरण
मकर संक्रान्तिको अवसर पारेर पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्बल, काम्ला, राडी, पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँबाट तीन दिनसम्मको यात्रा गरी मानिसहरू रिडी आइपुगेका छन् ।
