Erani Mahal
तानसेनमा आगामी माघ महिनाभित्र कालीगण्डकीकाे पानी आउने !
Untitled-1-copy-1

पाल्पा – करोडौँको लगानी भएको कालीगण्डकी खानेपानी योजना सफल हुने/नहुने आशंकाका बीच आगामी २०७६ माघभित्र तानसेनमा पानी आउने दावी गरिएको छ । तानसेनमा विगत १५ वर्षदेखि विद्यमान रहेको खानेपानी समस्या समाधान गर्न कालीगण्डकी योजना अघि सारिएको थियो । २ वर्षअघिदेखि खानेपानी योजनाको काम सुरु भएपनि अहिले पनि पानी तानसेनमा आउनेमा उपभोक्ता भने ढुक्क छैनन् । यद्यपी तानसेन उपभोक्ता समितिका पदाधिकारी भने आगामी माघ महिनाभित्रमा तानसेनमा खानेपानी झर्ने दावी गर्छन् ।

अब कालीगण्डकीको पानी पनि मेलम्चीको जस्तो हुन्छ की भन्ने शंका हटेको उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्की दावी गर्नुहुन्छ । कालीगण्डकीबाट तानेर फिल्टर नगरेको पानी आगामी माघ महिनाभित्र बतासेडाँडामा खस्छ उहाँ थप्नुहुन्छ आगामी २०७७ असारभित्र तानसेनबासीले फिल्टर गरेको शुद्ध खानेपानी पिउन पाउँछन् ।

फाइल तस्विर : इरानीमहल डटकम ।

खानेपानी योजनाको ९० प्रतिशत काम पूरा भएको समितिको दावी छ । बाँकी १० प्रतिशत फिल्टर जडान, विद्युत् बिस्तार र पानी पम्पिङ्को काम बाँकी रहेको समितिका सचिव केशव पौडेल बताउनुहुन्छ । समितिको पहिलेको भनाई अनुसारको काममा विद्युत्का कारण केही ढिलाई भएपनि अब तानसेनमा दैनिक २४ लाख लिटर पानी झर्ने दावी पौडेलको छ ।

कालीगण्डकीको पानी तानसेनमा ल्याउने सोचमा तत्कालित अर्थमन्त्री विष्णु पौडेलले सघाउनुभएको दावी गर्नुहुँदै समितिका उपाध्यक्ष एवं प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले सबैको सहयोगले कालीगण्डकी योजना सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।

हाल तानसेनमा दैनिक ३५ लाख लिटर खानेपानीको माग रहेको छ । तर अहिले आपूर्ति दैनिक ९ लाख लिटर मात्र छ । कालीगण्डकीको योजना सम्पन्न भएपछि भने तानसेनमा दैनिक ३० लाख लिटर पिउने पानीको आपूर्ति हुने बताइएको छ । अब जुनसुकै मान्छेले समितिको नेतृत्व गरे पनि तानसेनमा पिउने पानीको समस्या हट्ने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्य भनाई छ । शाक्यले अहिले पनि तानसेनमा ठूला ट्याङ्की निर्माण गर्ने, कर्मचारी व्यवस्थापन गर्ने समस्या रहेको भन्दै जनतालाई सहुलियतमा पिउने पानी उपलब्ध गराउन आफूहरु तयार रहेको बताउनुभयो ।

चार वर्षअघि संघीय सरकारले तानसेनलाई सुख्खा क्षेत्र घोषणा गरेर करोडौँको योजना प्रस्ताव गरेको थियो । हाल ४३ करोड भन्दा बढी लागतमा तानसेन बौघागुम्हाको कालीगण्डकी नदीबाट पानी पम्पिङ् गरेर तानसेनमा ल्याउने योजना सम्पन्न हुने क्रममा छ । ६ वटा पम्प स्टेसनमध्ये अहिलेसम्म नदीबाट दोस्रो स्टेसनसम्म पानी आइसकेको छ । तर अझैँ ४ वटा पम्पबाट पानी आउने बाँकी छ । यसले योजना सम्पन्न हुन्छ नै भन्ने कुरामा तानसेनका उपभोक्ता भने ढुक्क छैनन् ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update