Erani Mahal
५ नं. प्रदेशमा भाेलि र पर्सी सार्वजनिक बिदा
bida

पाल्पा – ५ नं. प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा माघ १ गते भोलि र २ गते पर्सी गरी दुई दिन सार्वजनिक बिदा दिएको छ । यस क्षेत्रमा बसोबास गर्ने मगर र थारु समुदायको विशेष पर्व भएकाले संक्रान्ति र माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ । गत वर्ष पनि प्रदेश सरकारले दुइ दिन बिदा दिएकाे थियाे ।

यस क्षेत्रमा मगर र थारू समुदायले परम्परादेखि नै धुमधामका साथ माघे संक्रान्ति पर्व मनाउने गरेका छन् । यसका साथै हिन्दु धर्मालम्बीहरुले रुरु क्षेत्रमा रहेको कालीगण्डकी नदीमा पुगेर स्नान गरी नजिकको मन्दिरमा पूजाआजा गर्ने प्रचलन समेत रहेको छ ।

यसैबीच नेपालको चार धाममध्ये एक रुरु धाम (रिडी)मा भोलिदेखि पाँच दिनसम्म विशेष मेला लाग्ने भएको छ । हिन्दु धर्मालम्वीहरू माघे संक्रान्तिमा कालीगण्डकी नदीमा स्नान गरेर नजिकै रहेको ऋषिकेश मन्दिरको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडी क्षेत्र हिन्दु धर्मालम्बीहरू आस्थाको केन्द्रको रुपमा स्थापित छ । परापूर्व कालदेखि नै रुरु (रिडी) क्षेत्रमा मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, बाग्लुङ् लगायतका क्षेत्रबाट हजारौँ मानिसहरू आउने गर्दछन् । मेलामा यस क्षेत्रका स्थानीय बासिन्दाले उत्पादन गरेका घरेलु सामग्री बिक्रीका लागि मानिसहरू रिडी क्षेत्रमा आइसकेको छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update