Erani Mahal
तानसेनका पूर्व जनप्रतिनिधिसँग छलफल
kkk

तानसेन – तानसेन नगरपालिकाले नगरपालिकाबाट यसअघि निर्वाचित पूर्व जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । तानसेन नगरपालिकाको विकास निर्माणमा पूर्व जनप्रतिनिधिहरुलाई समेत सँगै लैजाने र उनीहरुको अनुभव र सल्लाहलाई समेत कार्यान्वयन गर्ने उद्देश्यले उनीहरुसँग छलफल गरिएको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्व जनप्रतिनिधिहरुलाई तानसेनको विकास निर्माणमा तेस्रो पक्ष बनेर आवश्यक सल्लाह र सुझाव प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले पूर्व जनप्रतिनिधिहरुले अघि सारेको तानसेन रिङ् राेड सडकलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै अन्य विकास निर्माणका काममा समेत अनुगमन र निरीक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले तानसेनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न, सिद्धार्थ कोरिडोरलाई आर्थिक जीवनसँग जोडेर लैजान नगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो । यस्तै तानसेनको पर्यटन विकासमा नगरपालिाकले नीजि साझेदारी कार्यक्रम अघि सारेको बताउनुहुँदै श्रीनगरमा बीग बुद्धजस्ता निर्माणको काम अघि बढेको जानकारी दिनुभयो ।

कार्यक्रममा यसअघि विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्षहरुले तानसेनको विकासमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले तानसेनको टुडिखेल मैदान स्तरउन्नति तत्काल गर्नुपर्ने, ढल व्यवस्थापनमा ध्यान दिनुपर्ने, रानीमहलको उचित व्यवस्थापन गर्नुपर्ने, प्रभासमा प्रभात सहकारीले प्रयोग गरेको जग्गा अनुचित ढंगबाट प्रयोग भएकोप्रति रोक्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, अमिनबक्स मियाँ, त्रिरन्तलाल शाक्य, कृष्णराज अघिकारी, मनिन्द्रलाल शाक्य, भीमकुमारी शाक्य, शिव रेग्मी, प्रेम मल्ललगायतको सहभागिता रहेको थियो ।

'हाम्रो तानसेन' बुलेटिन सार्वजनिक

तानसेन नगरपालिकाले प्रकाशन गरेको हाम्रो तानसेन त्रैमासिक बुलेटिन सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेन बुलेटिनको पूर्णाङ्क ७ सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको पछिल्लो अंकमा तानसेनकाे कला, संस्कृति र सभ्यताको विषयमा विशेष सामग्री प्रकाशित गरिएको बुलेटिनका प्रधानसम्पादक गोविन्द भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले हाम्रो तानसेन बुलेटिन तानसेन नगरपालिकाको महत्वपूर्ण दस्ताबेज भएको बताउनुहुँदै निरन्तर प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update