Erani Mahal
पाल्पाली पत्रकार कसजुको स्मृतिमा अक्षयकोषको घोषणा
add-addad

काठमाडौ- बहुआयामीक व्यक्तित्व स्व. विनय कसजुको स्मृतिमा पाल्पाली संगमले अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ । कसजुको निधनको ४५औँ दिनको पुण्य तिथिका अवसरमा काठमाडौमा आयोजित सभामा स्व. विनय कसजुको सम्मानमा अक्षयकोष स्थापना गर्ने घोषणा संगमको सञ्चार विभागले गरेको हो ।


संगम अन्तर्गतको सञ्चार विभागले कसजुको ग्रामिण विकास पत्रकारिता, बाल साहित्य, सूचनाको हक र प्रविधिमैत्री अभियानगरी चार आयामलाई संस्थागत गर्ने उद्धेश्यले अक्षय कोष स्थापनाको प्रस्ताव गरेको विभागका संयोजक तथा संगमका सचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।
कोष मार्फत् ४ विधामा योगदान पुर्‍याउनेलाई हरेक बर्ष प्रोत्साहन प्रदान गर्ने, अध्ययन, अनुसन्धान, लेखन, अभियानलगायतमा सहयोग गर्ने उद्धेश्य राखिएको भण्डारीले बताउनुभयो ।


कोष संगमको सञ्चार विभागका सल्लाहकार शम्भु श्रेष्ठले संयोजन गर्नुहुने छ । स्वर्गिय कसजुसँग पाल्पादेखि काठमाडौँसम्म लगातार सहयात्री रहनु भएका श्रेष्ठले सम्वन्धीत निकाय तथा व्यक्तिहरुको सहयोगमा एक वर्षमा १० लाख रुपैया कोष जम्मा गर्ने योजना रहेको बताउनुभयो । उहाँले कसजुको बार्षिकीका अवसरमा स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना बनाइएको पनि जानकारी दिनुभयो ।


राष्ट्रका लागि धेरै योगदान पुर्‍याउनु भएका कसजुको स्मृतिमा कोष स्थापना गर्ने र उहाँलाई कालान्तरसम्म जिवन्त राख्ने जिम्मेबारी र अवसर पाउनु आफ्नो भाग्य र दायित्व दुवै भएको श्रेष्ठले बताउनुभयो । स्मृति सभामा कसजुको ग्रामिण विकास पत्रकारिताका बारेमा आदित्यमान श्रेष्ठ, बालसाहित्यका बारेमा प्रमोद प्रधान, सुचनाको हक अभियानका बारेमा तत्कालिन सूचना आयुक्त श्री आचार्य र सूचना प्रविधि अभियानका बारेमा कसजुका छोरा अभिनव कसजुले जानकारी गराउनु भएको थियो ।


कार्यक्रममा पाल्पाका सांसद तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेले स्वर्गिय कसजुका प्रयास तथा अभियानलाई सार्थकता दिनसके उहाँप्रति सच्चा श्रद्धान्जली हुने र त्यसका लागि अक्षय कोष राम्रो माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । स्मृति सभामा कसजुकी श्रीमती गंगा कसजु, संगमका अध्यक्ष पदम न्यौपाने, कोषाध्यक्ष सनिल नेपाल लगायतले कसजुको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।


विक्रम सम्वत् २००४ साल भदौ २५ गते पाल्पामा जन्मिनु भएका कसजुको गत मंसिर १० गते निधन भएको थियो । स्व कसजले ‘सत्य’, ‘देउराली’, ‘चौतारो’, ‘पाहुर’, ‘श्रीनगर’ सहित ५० भन्दा बढी बालसाहित्यिक पुस्तक प्रकाशन गर्नुभएको थियो । नेपालमा हवाइ साहित्यको सूत्रधारका रुपमा स्व कसजुलाई मानिन्छ । उहाँले २०३३ सालमा प्रकाशन गर्नुभएको ‘चौतारो’ हवाइपत्र नेपालको पहिलो हवाइ साहित्यिक पत्रिका थियो ।


उहाँ २० बर्षको उमेरमा पाल्पाको रिडी गाउँ पञ्चायतको प्रधानपञ्च, २०५५ सालमा उच्चस्तरीय मिडिया सुझाव आयोगका अध्यक्ष, २०६२ सालमा राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त हुनुभएको थियो । उहाँले पाल्पामा सञ्चार र पत्रकारिताको विकासका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update