Erani Mahal
पाल्पाकाे विकासे काम सुस्त :  ६ महिनाकाे खर्च ८ प्रतिशत भन्दा कम
palpa2

पाल्पा – यो वर्ष पाल्पा जिल्लाको विकासका लागि प्रदेश र सङ्घीय सरकारबाट विनियोजन बजेटको खर्च निरासाजनक अवस्थामा रहेको छ । विकासमा खर्च गर्ने गरी चालु आव २०७६/०७७ मा आएको कुल पूँजीगत बजेटको ८ प्रतिशत मात्र खर्च भएको छ । पाल्पाको ठूला विकासे आयोजनाहरुका लागि प्राप्त बजेट आर्थिक वर्ष बितेको ६ महिना बितिसक्दा समेत खर्च प्रतिशत कम भएको हो ।

सङ्घीय सरकारबाट चालु आवमा पूँजीगततर्फ विनियोजन भएको ४ अर्ब १ करोड ३४ लाख १४ हजार बजेटमध्ये जम्मा २२ करोड ८५ लाख ९४ हजार रकम खर्च भएको छ । जुन २०७६ मङ्सिर मसान्तसम्ममा खर्च भएको कुल बजेटको ५.७० प्रतिशत हुन आउछ ।

विकास निर्माणका लागि प्राप्त बजेट समयमै खर्च नहुँदा फ्रिज हुने सम्भावना हुन्छ । समयमै विकास बजेट खर्च नहुँदा विकास निर्माणमा नकारात्मक असर गर्छ । यसले असारमा विकास गर्ने प्रवृत्ति बढाउँछ भने हतारमा गरिएको विकासले दीगो विकासमा समेत असर पु¥याउँछ । यस्तै खर्च पारदर्शी नहुने, काम समेत प्रभावकारी नहुने समस्या देखिन्छ ।

पाल्पामा प्रदेश मातहत अन्तर्गतका कार्यालय मार्फत चालु आवमा आएको कुल पूँजीगत बजेट ९६ करोड पाँच लाख ३१ हजार बजेट छ । आर्थिक वर्षको ६ महिना बितिसक्दा जम्मा ७ करोड ९४ लाख रुपियाँ मात्र विकास निर्माणका काममा खर्च भएको छ । विकास निर्माणमा आएको कुल बजेटको ७.३५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । कोष लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख खेमराज घिमिरेले विकास निर्माणका काम पाल्पामा अझैँ हुन नसकेको र बल्ल टेण्डर प्रकाशित गर्ने काम भईरहेको छ ।

कार्यालय खर्च, कर्मचारी तलबभत्ताका लागि विनियोजन भएको चालुतर्फको बजेटको खर्च भने ३० प्रतिशत भन्दा बढी छ । संघीय कार्यालयको चालु बजेटको ३३.३८ प्रतिशत र प्रदेश मातहतका कार्यालयहरूको २९.०७ प्रतिशत खर्च भएको छ । पाल्पाका दश वटा स्थानीय तहहरूलाई वित्तिय समानीकरण र समपूरक अनुदानमार्फत प्राप्त ८२ करोड ८२ लाख ६५ हजार रकम अख्तियारी दिएको कार्यालयले जनाएको छ । स्थानीय तहमा कति खर्च भएको छ, त्यसको भने रेकर्ड प्राप्त भएको छैन ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update