Erani Mahal
पाल्पाकाे अमलाबासबाट वार्षिक २ कराेडकाे सुन्तला निर्यात
81816468_827744771010401_314832046373470208_n

पाल्पा – रैनादेवी छहरा–४, अमलाबासका किसानले सुन्तला बिक्रीबाट गाउँमा वार्षिक डेढ करोडदेखि २ करोडसम्म भित्र्याउन सफल भएका छन् । अमलाबासका २९ घरपरिवारले हरेक वर्ष सुन्तला बिक्री गरेर गाउँमा करोड–करोड भित्र्याउन सफल भएका छन् ।

पहिलो पटक वि.स. २०४० सालमा अमलाबासमा यहाँका अगुवा किसान ८० वर्षिय यमलाल कोइरालाले सुन्तला खेती सुरु गर्नुभएको थियो । उहाँले सुरु गर्नुभएको सुन्तला खेतीलाई अहिले पूरै गाउँले अनुशरण गरेको छ । सुन्तला खेतीबाट हरेक घरपरिवारले अहिले वर्षमा डेढ लाख देखि १५ लाखसम्म आम्दानी लिन सफल भएका छन् ।

जिल्लाकै नमूना सुन्तला प्लट

सुरुमा सुन्तला खेती गर्दा गाली गर्ने र जिस्काउनेहरु पनि थिए । तर अहिले अमलाबासमा सबैले सुन्तलाबाट आम्दानी गरेको देख्दा उमेर र सुन्तला खेतीले खारिनुभएका कोइरालालाई खुसी लाग्छ । उहाँका अनुसार अहिले हरेक घरपरिवारको बारीमा सुन्तला छन् ।

अमलाबासको हरेक घरमा कम्तीमा सय देखि पाँच सय सुन्तलाका बिरुवा छन् स्थानीय युवा किसान कमल घिमिरेले भन्नुभयो । घिमिरेले यो वर्ष आफ्नो बारीमा मात्र पाँच सय बढी सुन्तलाका बोटले दाना दिइरहेको र आगामी दिनमा आठ सय बिरुवा बढाउने योजना रहेको सुनाउनुभयो । उहाँले यो वर्ष आफ्नो सुन्तला बगैंचाबाट १५० क्वीटल सुन्तला उत्पादन बिक्री गर्ने बताउनुभयो ।

अमलाबासका किसानले सुन्तला बगैँचाबाटै प्रतिकिलो ७० रुपियाँमा बिक्री गरिरहेका छन् । २५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिहेका अमलाबासका किसानको आम्दानी भएपछि खाली रहेका जग्गामा समेत सुन्तला, कागती र जुनारका बिरुवा बिस्तार गर्ने तयारी गरिरहेको स्थानीय सुन्तला किसान टिकाराम पोखरेलले भन्नुभयो । उहाँले सुन्तला खेतीको जोन बिस्तार गर्ने भावी योजना रहेको बताउनुभयो ।

कतैबाट सहयाेग नपाएकाे गुनासाे

अमलाबासका किसानले जिल्लामै नमूना सुन्तला खेती गरेपनि अनुदान र अन्य सहयोगमा सरकारको आँखा नपुगेको गुनासो गर्छन् । अहिलेसम्म उनीहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट दुई लाख मात्र सहयोग पाएको बताउँछन् । अन्य क्षेत्रबाट कुनैपनि प्राविधिक तथा अनुदान सहयोग पाउन नसकेको रिता भट्टराईको भनाई छ ।

बिउ, मल, प्राविधिक खर्च, ढुवानी खर्च समेत आफैँले बेहोर्नु परेको छ उहाँले भन्नुभयो । नक्कली किसानले राहत पाउने तर साँच्चिको किसानले राहत नपाउने अवस्था रहेको यहाँका किसानको बुझाई छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update