Erani Mahal
रामपुरका मृगौला पीडितलाई कतारमा रहेका नेपालीको सहयोग
111

पाल्पा - कतारमा रहेका नेपालीहरुले संकलन गरेको रकम रामपुर-५ का मृगौला पीडित बिरामीका आफन्तलाइ हस्तान्तरण गरिएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले दुबै मृगौला फेल भएर शिक्षण अस्पताल काठमाडाैँमा उपचार गराइरहनु भएका रामपुर-५ बेझाँडका ३२ वर्षीया भगवती सुनारको उपचारका लागि भगवतीका श्रीमान् कृष्ण सुनारलाई ५१ हजार १० रुपैयाँ हस्तान्तरण गर्नुभयो।

गत भदौदेखि समस्या देखिएकोमा सामाजिक संजाल सहित विविध तबरबाट जानकारी भएपछि कतारका नेपालीले सो रकम संकलन गरेका हुन् । पुरानो बौदीकाली ३ रकुवा घर भई हाल रामपुर ५ बेझाँडमा स्थायी बस्दै आएका भगवतीको लागि पाल्पाली समाज कतारको समन्वयमा पाल्पाली युवाहरुले रकम संकलन गरेका हुन्। सहयोग अभियान कतारका विभिन्न कम्पनीमा कार्यरत युवाले रकम संकलन गरेर पठाएको हाल कतारमा कार्यरत रम्भा १ हुँगीका ईश्वर काफ्ले जानकारी दिनुभयो।

काफ्लेको संयोजकत्वमा संकलन भएको रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले रकमको सही सदुपयोग गर्न पीडित परिवारमा आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने बताउनुभयो । थापाले विदेशमा रहेका नेपालीले स्वदेशमा परेको दुखमा गरेको सहयोगीहरु प्रति कृतज्ञता प्रकट गर्नुभयो ।

उहाँले नगर भित्रका नागरिकहरुको स्वास्थ्य सेवामा सहजताको लागि नगरपालिकाले पनि आवश्यक पहल गरिरहेको बताउनुभयो। सो रकम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, योजना अधिकृत कपिल बहादुर खाण, पत्रकार सीता डोटेल, इमान सिं राना, रामपुर नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो । मृगौला पीडित भगवतीको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिदै श्रीमान् कृष्ण सुनारले सहयोगी दाताहरुलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update