Erani Mahal
सिद्धार्थ राजमार्ग छाेट्याउन ८ कराेड लागतमा चर्चरेमा पुल बन्दै
66

पाल्पा – सिद्धार्थ राजमार्गको दुरी छोट्याउने चर्चरे–सराई–आर्यभाङ्ज्याङ सडकखण्डको चर्चरेमा पुल बनाउने काम सुरु भएको छ । पाँच नं. प्रदेश सरकारको ७ करोड ९९ लाख लगानीमा चर्चरेमा पुल बन्न लागेको हो । पुल निर्माणको शिलान्यास गर्नुहुँदै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सामाजिक न्याय सहितको समृद्धि ल्याउन तयार रहेको बताउनुभयो ।

मन्त्री चौधरीले पुल बनेपछि यस क्षेत्रका नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आउने बताउनुभयो । निर्माणको काम अबधिभन्दा छिटो सक्न निर्देशन दिनुहुँदै उहाँले मन्त्रालयको तर्फबाट आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । पाल्पाको अम्लिहानमा समयमै पुल निर्माण सकिएको उदाहरण दिनुहुँदै मन्त्री चौधरीले चचैरेको तिनाउ पुल समेत समयअगाबै बन्ने विस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभासद् तुलाराम घर्तीमगरले पुल नहुँदा खोलामा जोखिम मोलेर तिनाउ नदी तर्नुपर्ने बाध्यता पुल बनेपछि हट्ने विस्वास गर्नुभयो । उहाँले यस क्षेत्रमा पछि परेका मगर समुदायको जीवनमा पुलले परिवर्तन ल्याउने उल्लेख गर्नुभयो । अर्का सभासद् नारायण आचार्यले प्रदेश सरकारको पहलमा पाल्पाको विकासमा उदाहरणीय काम भएको बताउनुभयो । उहाँले अम्लिहान पुल निर्माण गरेर यस क्षेत्रका नागरिकलाई सुबिधा दिएको उल्लेख गर्नुहुँदै चर्चरे र बाधबारीमा पनि छिट्टै पुल बन्ने जानकारी दिनुभयो ।

दुई वर्षको अबधिमा काम सक्ने गरी पुलको काम सुरु भएको मन्त्रालयका निर्देशक भीमार्जुन पाण्डेयले बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको इलाइट निर्माण कम्पनी काठमाडौँका प्रतिनिधि सुरेन्द्र लम्सालले पुल निर्माणको काम समयमै सक्ने प्रतिबद्धता जनाउनुभयो ।
पुलको ६२.९५ मीटर लम्बाई रहेको पुलको ११ मीटर चौडाई रहनेछ ।

पुल बनेपछि सिद्धार्थ राजमार्गको १७ किलोमिटर दुरी छोटो हुनेछ भने पाल्पाको माथागढी, तानसेन, रम्भा, बगनासकाली, रामपुर र स्याङ्जा र कास्की जिल्लाका नागरिकलाई समेत यात्रा गर्न सहज हुनेछ ।
पुल शिलान्यास कार्यक्रम जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख मिरा मरासिनीको अध्यक्षता, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरको स्वागत र स्थानीय बासिन्दा गणेश दर्लामीको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ गाउँपालिकाले गत वर्ष नै चर्चरे सराइ ट्रयाक खाेलिसकेकाे छ । यस्तै माथागढी गाउँपालिकाले पनि चिदीपानी र कसेनीकाे क्षेत्रमा सडक फराकिलाे बनाइसकेकाे छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update