Erani Mahal
प्रदेश ५ सरकारले दियो माघे संक्रान्तिमा २ दिन बिदा
P-5

बुटवल– प्रदेश ५ सरकारले माघे संक्रान्तिको अवसरमा आगामि माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो ।


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराउनुभयो ।


गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो ।


बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो । बैठकले रुपन्देहीका ईन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update