Erani Mahal
पाल्पा अस्पतालमा अनुगमन : अस्पताल सुधार गर्ने प्रयास
DSC_0989

पाल्पा – पाल्पा अस्पतालमा सङ्घीय सांसद, प्रदेश सांसद, अस्पताल व्यवस्थापन समिति, पत्रकार, दलका नेता सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । अस्पतालले दिइरहेको सेवाका बारेमा बुझ्न अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षको अगुवाईमा स्थलगत निरीक्षण गरिएको हो । स्थलगत अनुगमनमा फार्मेसी कक्ष, एक्सरे कक्ष, शौचालय, इमर्जेन्सी कक्ष, ल्याब कक्ष, कम्पाउण्ड लगायतको निरीक्षण गरिएको थियो ।

अनुगमनमा अस्पतालको भवन चुहिएको, वायरिङ् बिग्रिएर दुर्घटना हुन सक्ने अवस्थामा रहेको, बिरामीले शौचालय प्रयोग गर्न सक्ने अवस्थाको नभएको जस्ता समस्या पाइएको थियो । पछिल्लो समय अस्पताल र अस्पतालका कर्मचारीले गर्न सक्ने काम समेत नगरेको गुनासो बढेको थियो ।

अनुगमनमा संघीय सांसद सोमप्रसाद पाण्डेय, प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेय, पत्रकारहरु, नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीलगायतको सहभाािगता रहेको थियो ।

अनुगमनपछि भएको छलफलमा अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष पाण्डेयले अस्पताल सुधार गर्न सकिने विस्वास व्यक्त गर्नुभयो । उहाँले भित्र रहेका कार्यालय सहयोगीले अस्थायी मेडिकल सुपरीटेन्डेन्टलाई टेर्ने अवस्था नरहेकामा दुःख व्यक्त गर्दै सुधार भित्रैबाट गर्न समिति निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष पाण्डेयले केही महिनाभित्रै अस्पतालको व्यवस्थापन पक्ष र अस्पतालले दिइरहेको सेवामा सुधार गरिने योजना सहित आफूहरू अघि बढेको बताउनुभयो । सांसद पाण्डेयले सरकारी अस्पताल सुधार गर्न पूर्वाधार निर्माणको पक्षमा सरकारको तर्फबाट पूर्ण सहयोग गरिने बताउनुभयो ।

प्रदेश सभासद् डा. पुरनमान बज्राचार्यले अस्पतालको भौतिक अवस्था सुधार गर्न आफू तयार रहेको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अस्पतालमा काम गर्ने कर्मचारीको मनोबल बढाउने र कामै नगर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update