Erani Mahal

पाल्पा – पहाडी जिल्ला पाल्पा सहित देशभर चिसो बढेको छ । देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।


उहाँका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ ।


शुक्रबार देशभरी कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो । वर्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update