Erani Mahal
पाल्पामा भ्रमण वर्ष २०२० शुभारम्भ : स्थानीय तहहरूमा विविध कार्यक्रम
81740132_177109583367668_6984584621161709568_o

पाल्पा – तानसेन नगरपालिकाले ‘तानसेन जाउँ प्रकृति र सँस्कृतिसँगै रमाउँ’ भन्ने नारासहितको भ्रमण वर्ष–२०२० को आरम्भ गरेको छ । नगरपालिकाको मुलगेटमा भिजिट नेपाल–२०२० लेखिएको झण्डा र राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेपछि भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।


तानसेन नगरपालिकाले बसपार्कमा पाल्पाका पर्यटकीय स्थलहरुको जानकारी दिन डिजिटल डिस्प्ले बोर्ड समेत राखेको छ । तानसेनका नगर प्रमुख अशोक कुमार शाहीले पाल्पा आउने पर्यटकलाई घुम्न सहज होस् भनेर पर्यटकीय स्थलहरूको बारेमा जानकारी दिने डिजिटल बोर्ड राखिएको बताउनुभयो । डिजिटल बोर्डमा तानसेनका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको तस्विरसहित विभिन्न जात्रा महोत्सवका भिडियो र वृत्तचित्र राखिएको उहाँले बताउनुभयो ।

भ्रमण वर्षका अवसरमा सडक महोत्सव, साँस्कृतिक महोत्सव र खाना महोत्सवसँगै सुन्तला महोत्सव समेत आयोजना गरिएको तानसेनले जनाएको छ । तानसेनको महत्वलाई उजागर गर्नको निमित्त पाल्पाली समाज पोखरासँग सहकार्य गरेर पोखराको फेवातालमा तानसेनको पर्यटकीय प्रचारप्रसारको लागि डिजिटल डिस्प्ले बोर्ड राख्ने तयारी पनि भएको छ । तानसेनले विभिन्न संघसंस्थाहरुसँग मिलेर वर्षभरि नै कार्यक्रम गर्ने तानसेनका प्रवक्ता दामोदरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच भ्रमण वर्षको शुभारम्भका अवसरमा बुधबार तानसेनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सरसफाई समेत गरिएको छ । तानसेन नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको हो ।


यस्तै रिब्दीकोट गाउँपालिका भैरवस्थानमा रहेको भैरव मन्दिरमा आएका पर्यटकलाई मन्दिर व्यवस्थापन समितिले स्वागत गरेको छ । भैरवस्थान मन्दिरमा आएका चिनियाँ पर्यटकलाई स्वागत गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

भ्रमण वर्षको अबसरमा पूर्वखोलामा उद्धबुद्ध कलेजका विद्यार्थीहरुले दीप प्रज्वलन गरेर स्वागत गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनका सभापति नविन आचार्यले भ्रमण वर्षको शुभारम्भ दीप प्रज्वलन गरेर गरिएको बताउनुभयो ।

रम्भा गाउँपालिकाले समेत भ्रमण वर्षको अवसरमा विविध कार्यक्रम गरेको छ । भ्रमण वर्षको शुभारम्भ पारेर गाउँपालिकाले विविध कार्यक्रम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

भ्रमण वर्षको अवसरमा तिनाउ गाउँपालिकामा प्रचारात्मक कार्यक्रम भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने उद्देश्यले तिनाउमा शिद्धबावा मन्दिरको आयोजनामा प्रचारात्मक कार्यक्रम भएको हो । कार्यक्रममा संघीय सांसद सोमप्रसाद पाण्डेय, गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर, प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष प्रेम पाण्डेय लगाउतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update