Erani Mahal
पाल्पाका अधिकांश स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा दैनिक काममा बाधा
karmachari_nHvDq5mtaf

पाल्पा - पाल्पाको ६ वटा स्थानीय तहमा शिक्षा शाखाका कर्मचारी नहुँदा शिक्षाका काम अस्तव्यस्त बनेका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र पूर्वखाेला गाउँपालिकामा शिक्षा शाखामा कर्मचारी नहुँदा शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएकाे हाे ।

शिक्षा क्षेत्रमा काम गरेका कर्मचारी नहुँदा दैनिक कामकाजमा समेत समस्या परेकाे छ । शिक्षाका कर्मचारी नभएका स्थानीय तहमा कतै राेजगार संयाेजकलाइ त कतै प्रशासनका कर्मचारीलाइ जिम्मेवारी दिइएकाे छ । यद्यपी शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी नहुँदा संघीय, प्रदेश सरकारले तय गरेका शैक्षिक कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन हुन सकेका छैनन् ।

रैनादेवी छहरा गाउँपालिकामा रोजगार संयोजक हरि पोखरेललाई शिक्षा शाखाको समेत जिम्मेवारी तोकिएको छ । तर अनुभव नहुँदा शिक्षा क्षेत्रकाे कार्यक्रम प्रभावकारी हुन सकेकाे छैन । गाउँपालिकाले तय गरेका शिक्षा सम्बन्धी कार्यक्रम समेत प्रभावहिन बनेकाे छ ।

रामपुर नगरपालिकाको हालत पनि उस्तै छ । रोजगार शाखाका संयोजकलाई शिक्षा शाखाको जिम्मेवारी प्रदान गरिएको छ ।

माथागढी गाउँपालिकामा पनि शिक्षा शाखाको संयोजकमा रोजगार संयोजक सुदिना ज्ञवालीलाई तोकिएको थियाे तर ज्ञवालीले राजीनाम दिएपछि शिक्षा शाखाकाे काम प्रभावकारी बन्न सकेकाे छैन । गउँपालिका प्रशासकीय अधिकृत दीपक नेपालीले शिक्षाका सबै काम प्रशासन शाखाबाट हुँदै आएको बताउनुभयाे ।

पूर्वखोला गाउँपालिकामा उद्धबुद्ध माविका प्रध्यानाध्यापक लोकहरि देवकोटाले शिक्षा शाखाका काममा सहजीकरण गरिरहेका थिए । अधिकांश समय विद्यालयको जिम्मेवारीमा रहनुपर्दा गाउँपालिकाले बोलाएको समयमा सल्लाह तथा सहजीकरण मात्रै गर्ने गरेको उहाँले बताउनुभयाे ।

निस्दी गाउँपालिकामा पनि शिक्षाको कर्मचारी नहुँदा स्रोत व्यक्ति हरिबहादुर सारुले शिक्षा शाखाका काम हेरिरहनुभएकाे छ । कर्मचारी नहुँदा दैनिक प्रशासनकाे काममा समेत बाधा परेकाे छ ।

रम्भा गाउँपालिकामा शिक्षा शाखाको जिम्मेवारी स्रोत व्यक्ति काशीराम बस्याललाई दिएको छ । स्थानीय तहमा शिक्षाका कर्मचारी नहुदाँ करारका कर्मचारी र शिक्षकलाई जिम्मेवारी प्रदान गर्न बाध्य भएको गाउँपालिकाले जनाएको छ ।

शिक्षाका कर्मचारी नहुँदा शिक्षा क्षेत्र भद्रगाेल

२०७२ सालकाे संविधानले अधिकांश शिक्षाका अधिकार स्थानीय तहलाइ दिएकाे छ । तर प्राप्त अधिकार समेत स्थानीय तहले कार्यान्वयन गर्न सकिरहेका छैनन् । जनप्रतिनिधिकाे ध्यान शिक्षामा भन्दा सडक, कुलाे, पुल पुलेसा, धारा, पानीतर्फ छ ।

शिक्षा क्षेत्रमा बजेट बढाउने, शैक्षिक कार्यक्रम प्रभावकारी बनाएर शिक्षित र आवश्यक जनशक्ति उत्पादनमा स्थानीय तहकाे ध्यान जान सकेकाे छैन । त्यसैमाथि शिक्षाका कर्मचारी नहुँदा शिक्षा सम्बन्धी कार्यक्रम र प्रशासनिक काममा ढिलासुस्ती र समस्या हुँदै आएकाे छ । शिक्षा क्षेत्र हेर्ने कर्मचारी अनुभवी र शिक्षाकाे महत्व र त्यसप्रति सम्वेदनशील भएकाे हुनपर्छ हाे तर कर्मचारी नै छैन अधिंकाश शिक्षकहरूकाे गुनासाे छ ।

शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका शाखा अधिकृत विष्णुप्रसाद बेल्बासेले स्थानीय तहका शिक्षा शाखाले प्रदेश र केन्द्रका कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेबताउनुभयाे । केन्द्र र प्रदेशका काम गर्ने जिम्मा रहेको हुँदा शाखामा कर्मचारी नहुँदा समस्या बल्झिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update