Erani Mahal
कबुलियती वनले एक दशकमा बद्लेकाे जीवन
amriso-1-1

पाल्पा – वनमारा झारले ढाकेको काउलेडाँडामा लगाइएको अम्रिसोले वार्षिक झण्डै एक करोडको आम्दानी दिन थालेको छ । जिल्लाको पूर्वमा रहेको निस्दी गाउँपालिका–३, झिरुबासस्थित काउलेडाँडामा लगाइएको अम्रिसोले वार्षिक झण्डै एक करोड आम्दानी दिन थालेको हो ।

नेपाल सरकारको कबुलियती वन विकास कार्यक्रममार्फत यहाँका ११७ घरधुरीले वनमारा झार हटाएर १० वर्षअघि अम्रिसो खेती सुरु गरेका थिए । यहाँका स्थानीय बासिन्दाले खोरियाको रुपमा प्रयोग गर्दै आएको सरकारी जग्गा ४० वर्षका लागि कबुलियत स्थानीय बासिन्दालाई दिइएको छ ।
कबुलियत गरेको दिइएको काउलेडाँडाको २२७ हेक्टर क्षेत्रफलमा अम्रिसो लगाइएको छ ।

अम्रिसोको कुचो, डाँठ र बिरुवा बिक्रीबाट अहिले वार्षिक एक करोड आम्दानी भएको कबुलियती वन समूहका अध्यक्ष वीरबहादुर पाटाले जानकारी दिनुभयो । अम्रिसोसहित टिमुर, दालचिनी र कागतीका बिरुवा समेत काउले वनमा हुर्किएको उहाँले बताउनुभयो ।

अम्रिसोको फुलबाट कुचो बनाइन्छ भने अम्रिसाको डाँठ कागज उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । यस्तै अम्रिसोको बिरुवा पाल्पाकै विभिन्न स्थानसहित, तनहुँ, स्याङ्जा, गुल्मी जिल्लामा निर्यात हुने गरेको छ । कबुलियती समूहले वार्षिक ८० लाखको अम्रिसोको कुचो बनाउन प्रयोग हुने फुल र डाँट बिक्री गरिरहेको । २० लाखको बिरुवा बिक्री गरेको छ ।

गतवर्ष प्रतिकिलो ६० रुपियाँमा अम्रिसोको कुचो बनाउने फुल बिक्री भएको स्थानीय बासिन्दा एवं वडा अध्यक्ष लक्ष्मी पाटाले बताउनुभयो । यसको मुख्य बजार क्षेत्र भारत भएकाले भारतीय बजारमा आएको भाउ अनुसार आम्दानी बढ्ने र घट्ने उहाँले बताउनुभयो ।

कबुलियती वनबाट पछिल्लो समय यहाँका स्थानीय बासिन्दाहरूको मासिक र वार्षिक आम्दानी समेत बढेको छ । पहिले साँझबिहान खान धौ–धौ थियो स्थानीय बासिन्दा खिममाया सुनारीले भन्नुभयो अहिले बचाएर मासिक बचत समेत गरेका छौँ । कबुलियती वनमार्फत काउलेडाँडामा बसोबास गर्ने बासिन्दाको जीवनस्तर नै परिवर्तन गरेको उहाँले बताउनुभयो ।

घुम्न आउनेबाट पनि आम्दानी

काउलेडाँडा अम्रिसोले ढाकेपछि घुम्ने र पिकनिक खाने आन्तरिक र बाह्य पर्यटकहरूको समेत गन्तव्य बनेको छ । अम्रिसोकै कारण दिनहुँ यहाँ पिकनिक खान र घुम्न आउने मानिस बढेका छन् । घुम्न आउने मानिस बढेपछि यहाँ उत्पादन भएको गहते, बोडा, बेसार, अदुवा, तरुल, कोदो र फाँपरको बिक्री बढेको छ ।

काउलेडाँडामा अहिले दिनहुँ बस, जीप, मोटरसाइकल, स्कुटी लिएर सयौँ मानिस घुम्न आउने गरेको वडाअध्यक्ष पाटाले बताउनुभयो । पिकनिक र भ्रमण आउने मानिसबाट प्रवेश शुल्क लिने गरेका छौँ पाटाले भन्नुभयो प्रवेश शुल्कले समूहकै आम्दानी समेत बढेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update