Erani Mahal
पाल्पामा ट्राफिक सप्ताह : अधिकांश दुर्घटना चालककै कमजाेरीले !
IMG_4795-scaled

पाल्पा – जिल्लाका विभिन्न स्थानमा भईरहेको दिनहुँको सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । आइतबारदेखि तानसेनको बसपार्कबाट सुरु गरेको ट्राफिक सचेतना कार्यक्रम जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ ।

सडकमा हुने दुर्घटना कम गर्न, दुर्घटनाबाट हुने समस्या र दुर्घटना हुनै नदिनतर्फ ट्राफिक प्रहरीको ध्यान गएको छ । सोमबार तानसेनको हार्थोकमा भएको कार्यक्रममा सडकमा हिड्ने बटुवा, यात्रु, चालक, सहचालक र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई प्रहरीले ट्राफिकको बारेमा जानकारी दिएको थियो ।

पछिल्लो समय पाल्पा जिल्लामा ट्रिपर अत्याधिक दुर्घटना हुने गरेको छ । ट्रिपरको संख्या बृद्धि हुनु, लाइसेन्स बिनै ट्रिपर चलाउनु, मादक पदार्थ सेवन गर्नु, तोकिएको मापदण्ड भन्दा बढी चुनढुंगा बोक्नु, अत्याधिक गतिमा कुदाउनु ट्रिपर दुर्घटनाका कारण रहेका छन् ।

यसपछि मोटरसाइकल र फिकअप जीप समेत दुर्घटना हुने सवारीसाधनको रुपमा दर्ज भएको छ । लाइसेन्स बिनै मोटरसाइकल चलाउनु, मादक पदार्थ सेवन गरेर चलाउनु, अत्याधिक कुदाउनु मोटरसाइकल दुर्घटनाका कारण रहेको प्रहरीको भनाई छ । यसबाहेक जिल्लामा बस, कार, भ्यान, स्कुल बस समेत दुर्घटनामा पर्ने गरेका छन् ।

अधिकांश दुर्घटनाको कारण चालकको गल्ती देखिएको छ भने केही प्राविधिक कारणले पनि दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । अधिकांश दुर्घटना हुनुमा चालकको कमजोरी देखिन्छ । चालक सचेत भए दुर्घटना धेरै कम हुने उहाँको भनाई छ ।

चालक बाहेक यात्रु, सहचालक र सरोकारवाला निकाय पनि सचेत हुनुपर्ने ट्राफिक प्रहरीको भनाई छ । सबै सरोकार निकाय सचेत भए दुर्घटनामा कमी आउने पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताउनुभयो । ट्राफिक सम्बन्धी ज्ञान र चेतना अभावकै कारण दुर्घटना बढेको देखिन्छ उहाँले भन्नुभयो यसबाहेक हेलचेक्र्याई र लापरबाही पनि दुर्घटनाको कारण हो ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update