Erani Mahal
तानसेनमा मगरी सांस्कृतिक तथा खाना महाेत्सव हुने
81213806_598469474251060_432506118695026688_n

पाल्पा – तानसेनमा मगरी सांस्कृतिक तथा खाना महोत्सव हुने भएको छ । आगामी पुस २५ गते शुक्रबार तानसेनमा मगर समुदायमा प्रचलित खाना सहित सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । नेपाल मगर संघले पत्रकार सम्मेलन गरेर मगर समुदायको पहिचान र संस्कृति झल्कने परम्परागत नाच तथा मगर समुदायका प्रचलित खानाको स्टल राखेर महोत्सव गर्न लागेको जनाएको छ ।

मगर समुदायले परम्परादेखि नाच्दै आएका घाटु, सोरठी, झाम्रे, कौडा, जीवैमामा नाच लोप भएको भन्दै संस्कृति जर्गेना गर्न सांस्कृतिक प्रदर्शन सहित खाना महोत्सव गर्न लागिएको मगर संघका अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो । महोत्सवमा बारा (बटुक), विभिन्न प्रकारका अचार, चुकाउनी, बंगुरको मासुबाट बनाइएका परिकार, वन तरुल, गन्जीको समेत स्वाद चाख्न पाइने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा १५ देखि २५ स्टलहरू समेत रहनेछन् । महोत्सवमा पहिचान र संस्कृति झल्कने खालका नाच, गीत प्रस्तुती हुने मगर समुदायका अगुवा एवं नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहरसिंह रानाले जानकारी दिनुभयो । उहाँले मगर लगायत आदिवासी जनजाति समुदायको वर्तमान संविधानप्रति केही असहमति रहेको उल्लेख गर्नुहुँदै आन्दोलनकै रुपमा महोत्सव गर्न लागिएको दावी गर्नुभयो ।

महाेत्सव हाम्रो आन्दोलनकै एउटा रुप हो रानाले भन्नुभयो महाेत्सव १२ मगरात क्षेत्रमा प्रचलित भाषा, कला, संस्कृति र रहनसहनको प्रचार पनि हो । महोत्सवले आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने र सरकारले घोषणा गरेको पर्यटन वर्षसँग सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।

५ नं. प्रदेश सरकारले माघ १ र २ गते मगर र थारु समुदायको विशेष पर्व मानेर प्रदेशभर गत वर्ष सार्वजनिक बिदाको घोषणा गरेको थियो ।

पत्रकार सम्मेलनमा संघकी उपाध्यक्ष शान्ति झेडीको स्वागत, सचिव नरेन्द्र सिंजालीको संचालन र अध्यक्ष तेज घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकारहरूले महोत्सवको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update