Erani Mahal
कालीगण्डकी नदीमा पनि पानी जहाज चल्याे !
81880425_1513891045430235_5909232502253289472_o

स्याङ्जा - कालीगण्डकी नदीमा क्रुज शीप सञ्चालन गरिएको छ । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाकाे संगम स्थलमा कालीगण्डकी जलाशयमा क्रुज शीप सञ्चालनमा ल्याइएको हो । जलविधुत आयोजनाका क्रममा बनेको जलाशयमा यात्रुलाइ मध्यनजर गर्दै जहाज संचालनमा ल्याइएकाे हाे ।

यस क्षेत्रका लागि करिब ७ कि.मि. जलयात्रा गर्ने गरी जहाज चलाइएकाे संचालकले बताएका छन् । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो ।

क्रुज शीपको गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताउनुभयो । भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजशीपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट, रानीमहल, सेतीवेणी, मोदीवेणी हुदै मुक्तिनाथ सम्मको धार्मिक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम बहादुर थापाले पर्यटकी प्रचुर सम्भावना भएर पनि यस क्षेत्र सधै ओझेलमा परेको बताउदै कालीगण्डकी जलशायमा जलयात्रा सँगै अन्य पर्यटकीय गतिविधिहरु बढाउने योजनामा आफुहरु रहेको बताउनुभयो ।
कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी बाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणी सम्म पुगिन्छ । विश्वकै ठूलाे शालिग्राम दर्शन गर्न आउने पर्यटकहरुले जलयात्र गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

सेतीवेणी बाट मिर्मी सम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मीबाट जलयात्रा गर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्र बहादुर रानाले जानकारी दिनुभयो ।

छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएता पनि तिन महिनाभित्र १२० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उहाँले बताउनुभयो । यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सय जना मानिसहरु सम्म बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update