Erani Mahal
पाल्पामा भूकम्पबाट क्षतिग्रस्त विद्यालयका ४३ भवन निर्माण सम्पन्न
kj-1

पाल्पा – वि.स. २०७२ सालको बैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त जिल्लाका १३० विद्यालयको भवनमध्ये ४३ वटा विद्यालयको भवन बनेको छ । भूकम्पबाट क्षतिग्रस्त भएकामध्ये तीन वर्षको अबधिमा ४३ वटा विद्यालय भवन बनेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) पाल्पाले जनाएको छ ।

सोमबार तानसेनमा पत्रकार सम्मेलन गरेर इकाईले आव २०७३/०७४ मा १२ वटा, आव २०७४/०७५ मा १० वटा र आव २०७५/०७६ मा २१ वटा विद्यालय भवन निर्माण भएकाे जनाएको हाे । इकाई प्रमुख लक्ष्मण देवकोटाले २०७५/०७६ मा निर्माण सुरु भएका १५ वटा विद्यालयको भवन निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

तीन वर्षको अबधिमा दुई, तीन र चार कोठे गरी ४३ वटा भवन निर्माण गर्न २५ करोड तीन लाख २६ हजार खर्च भएको प्रमुख देवकोटाले जानकारी दिनुभयो । प्राधिकरणले चार कोठे भवनका निर्माण गर्न ७० लाख ४० हजार, तीन कोठेका लागि ३५ लाख ८० हजार र दुई कोठका लागि २३ लाख ९० हजारसम्म अनुदान दिएको छ ।

प्राधिकरण पाल्पामा २०७२ सालमा गएको भूकम्पबाट १३० विद्यालयका ६५० कोठामा क्षति पुगेको तथ्याङ्क भएपनि अझैँ थपिने क्रम जारी रहेको छ । कार्यालयका इन्जिनियर गुनबहादुर मल्लले प्राधिकरणले तोकेको मापदण्ड अनुसार विद्यालय भवन प्रदान गरिएको बताउनुभयो ।

पाल्पाका विभिन्न स्थानका विद्यालयले अझैँ १४३ भवनको माग गरेका छन् । दुई र चार कोठे भवन निर्माण सम्पन्न गरिसकेका जिल्लाका कतिपय विद्यालयहरूले विद्यार्थी सङ्ख्या धेरै भएका कारण पठनपाठनमा समस्या परेको भन्दै भवन माग गरिरहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा पत्रकारहरूले जिल्लामा पुनर्निर्माण प्राधिकरणबाट बनेका विद्यालयको भवनका बारेमा जिज्ञासा र सझाव राखेका थिए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले कार्यालयले पत्रकार सम्मेलनमार्फत आफ्ना गतिबिधि जानकारी गराएर पारदर्शिताको अभ्यास गरेको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update