Erani Mahal
रानीमहल-स्याङ्जा जाेड्ने पुल बन्याे
78187651_2576410965738606_8752211010632286208_n

स्याङ्जातर्फ स्तरीय बाटाे बन्न सकेन

पाल्पा - पाल्पाको रानीघाट र स्याङ्जाको सटुका जोड्ने मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण गर्न सम्झौता भएको छ वर्षपछि पाल्पाको रानीमहल र स्याङ्जाको दक्षिण– पश्चिम भेग सटुका जोड्ने पुल निर्माण सम्पन्न भएको हो ।


निर्माण व्यवसायीको कारणले तोकिएको अबधिभन्दा अढाई वर्ष ढिला गरेर पुल बनेको हो । वि.स. २०७१ असार ३० गते २०७४ असार ८ गते सकिने गरी सम्झौता भएको थियो । तर विविध कारण देखाउँदै पुल बनाउने म्याद थप हुँदै आएको थियो । छ वर्षअघि सपना–हिमदूङ–ठोक्कर–त्रशुली जेभीले १९ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको थियो ।


निर्माण व्यवसायीले पछिल्लो पटक थप गरेको म्यादभित्र पुल निर्माणको काम सकेको पुल आयोजना सेक्टर नं. ४, पाल्पाका प्रमुख भीमार्जुन कडेलले बताउनुभयो । पुलको काम सकिएको छ प्रमुख कडेलले भन्नुभयो पुल बनेपछि यस क्षेत्रका बासिन्दालाई बाह्रै महिलना आवतजावत गर्न सहज भएको छ । पुलदेखि पाल्पा र स्याङ्जातर्फ गरी एक किलोमिटर सडक कालोपत्रे गर्ने कामपनि पुस मसान्तभित्रै सकिने बताउनुभयो ।

तस्विर : टेकनारायण पाण्डेयकाे फेसबुकबाट ।


पुल निर्माण सम्पन्न भएपछि पाल्पा, स्याङ्जा र गुल्मी जिल्ला कालीगण्डकी क्षेत्रका बासिन्दालाई सिधा आवत जावत गर्न सहज भएको छ । पुल निर्माण भएपछि बुटवल हुँदै पाल्पा रानीमहल, स्याङ्जा र गुल्मीको कालीगण्डकी गाउँपालिकामा जानआउन दुरी समेत कम भएको छ ।


पहिले ६० किलोमिटर सडक पार गरेर यात्रा गर्नुपथ्र्यो अब ३० किलोमिटरमै स्याङ्जाको आलमदेवी, सटुवा, कारिकोट, टङ्लिहवा, बिर्घा पुग्न सकिने भयो स्थानीय बासिन्दा अनन्तराज पाण्डेयले भन्नुभयो । पुल नहुँदा रिडी हुँदै वा सिद्धार्थ राजमार्गको जिरो हुँदै घुम्नपर्ने अवस्था थियो उहाँले भन्नुभयो । पुल बनेपछि बुटवलबाट तानसेन, रानीमहल, सटुका, मिर्मी हुँदै गुल्मीको हर्मीचउर र पर्वतसम्म छोटो समयमै पुग्न सहज भएको छ ।

ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल र स्याङ्जाको धार्मिक एवं ऐतिहासिक स्थल आलमदेवी जोड्ने गरी बनेको पुलले क्षेत्रमा पर्यटकमा सङ्ख्यामा समेत बृद्धि गर्ने अपेक्षा गरिएको छ । पहिले पुल नहुँदा पोखराबाट आलमदेवी आउने पर्यटक रानीमहलसम्म आउन सक्ने अवस्था थिएन भने रानीमहल जाने पर्यटक समेत आलमदेवी जान सकेका थिएनन् ।

स्याङ्जातर्फ बाटो पनि बन्न सकेन

रानीमहलबाट स्याङ्जा जाने पुल बनेपनि स्याङ्जातर्फ भने बाटाे बन्न सकेकाे छैन । स्याङ्जाकाे सटुकादेखि मिर्मी जाने सहज बाटाे बन्न नसक्दा यस भेगका बासिन्दा भने खुसीसँगै चिन्तित बनेका छन् । वडाले निर्माण गरेकाे सानाे बाटाे छ, तर दुइ लेनकाे सुबिधासम्पन्न बाटाे बनाउनुपर्ने यहाँका बासिन्दाकाे माग छ ।

५ नं. प्रदेश सरकारले रानीमहलसम्म याे वर्ष कालाेपत्रे सडक बनाउने याेजना छ । तर स्याङ्जातर्फ भने कच्ची सडक समेत बनाउन सकेकाे छैन । स्थानीय सरकार र सडक डिभिजन कार्यालय पाेखराले समेत सडककाे स्तरउन्नतिमा ध्यान दिन नसकेकाे स्थानीय बासिन्दाकाे भनाइ छ । स्याङ्जातर्फ स्तरीय बाटाे बन्न सकेन भने पुल बन्नुकाे कुनै अर्थ छैन ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update