Erani Mahal
रम्भाका पाँच विद्यालय 'बालमैत्री' घाेषित
Student-1_lJSTOG2sJ2

पाल्पा – रम्भा गाउँपालिकाभित्रका पाँच वटा विद्यालय बालमैत्री घोषणा भएका छन् । रम्भा गाउँपालिकाका सामुदायिक तथा संस्थागत गरी ४२ विद्यालयमध्ये पाँच वटा विद्यालयलाई निर्धारित गरिएका सूचकहरू पूरा गरेको आधारमा बालमैत्री विद्यालय घोषणा गरिएको हो ।


रम्भा गाउँपालिका वडा नं. ५ ताहुँको रम्भा माध्यमिक विद्यालय, प्राकृतिक आधारभूत विद्यालय, जनता प्राथमिक विद्यालय, चण्डेश्वरी प्राथमिक विद्यालय तथा जनजागृति प्राथमिक विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारी सहितको टोलीले निरीक्षण तथा अनुगमन पश्चात बालमैत्री विद्यालय घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।


रम्भा गाउँपालिकालाई बालबालिकामैत्री बनाउन विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गरिएको छ । उनीहरूको हक अधिकार प्रदान गरी नमूना गाउँपालिका बनाउन बालमैत्री विद्यालय घोषणालाई प्राथमिकता दिइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

रम्भा गाउँपालिकाका सबै विद्यालयलाई बालमैत्री विद्यालय बनाई अध्यापन कार्यमा सहजीकरण गर्न गाउँपालिका क्रियाशिल रहेको शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताउनुभयो । बालमैत्री विद्यालय बन्नका लागि अधिकांश विद्यालयले निधारितत सूचक पूरा गरेकोले बालमैत्री विद्यालय घोषणा गर्ने क्रम निरन्तर चल्ने उहाँले बताउनुभयो ।

अनुगमन तथा निरीक्षणको लागि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, बालमैत्री स्थानीय शासन समन्वय ईकाई सम्पर्क व्यक्ति शिवप्रसाद अर्याल लगायतको टोलीले अनुगमन गरेको थियो ।

रम्भा गाउँपालिकाले आगामी चैत्र मसान्त भित्र गाउँपालिकाका सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्ने उद्देश्यका साथ चेतना अभिबृद्धि, भौतिका पूर्वाधार निर्माण, बालबालिकाको क्षमता अभिबृद्धि कार्यक्रममा जोड दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update