Erani Mahal
इलामको झल्को मेटाउँदै पाल्पा झिरुवास काउले वनको अम्रिसो
1-3

पाल्पा– पाल्पा जिल्लाको निस्दी गाउँपालिका ३ झिरुवासको काउले वन क्षेत्रमा रहेको अम्रिसोले इलामको चिया बगानको झल्को मेटाउन थालेको छ ।


झिरुवासको काउँलेडाँडामा कबुलियति वन कार्यक्रम मार्फत स्थानीयले समूहमा अम्रिसो खेती गरेपछि यहाँको पहिचान फेरिएको छ भने यसलाई अहिले इलामको फिक्कलको चिया बगानसँग तुलना गर्न थालिएको छ ।


इलामको चियाको बगानजस्तै देखिने गरी अहिले यहाँ अम्रिसोको घारीले डाँडा नै ढाकेको छ । जसलाई हेर्न यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु समेत जाने गरेका छन् ।


काउलेडाँडामा अम्रिसोको बगान हेर्न र पिकनिक खान, सेल्फी खिच्न र मनोरम हिमश्रङ्खलासँगै प्राकृतिक वातावरणमा रमाउन यहाँ पाल्पाका विभिन्न स्थान, स्याङ्गजा, गुल्मी, नवलपरासी, रुपन्देही, कविलवस्तु, पोखरा, तनहुँ लगायका स्थानबाट मानिसहरु आउने गरेका छन् ।


दैनिक अहिले सिजनको समयमा १५/२० वटा गाडी र बेसिजमा समेत ३।४ वटा गाडीमा आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका छन् यस्तै शनिवार र विदाको दिनमा त्यसको संख्या वृद्धि हुने गरेको छ ।


रुखो जमिनमा लगाइएको अम्रिसोको खेतीले स्थानीयको आय स्तर र जीवनस्तरमा समेत परिवर्तन आएको छ, स्थानीय कबुलियति वन कृषि सहकारी समूहका अध्यक्ष वीरबहादुर पाटाले भन्नुभयो, खोरिया खेती गर्ने काउले वनबाट विस्तारै पैसाको खेती हुन थालेको छ । यहाँबाट वार्षिक एक करोड बढीको अम्रिसो विक्री हुने गरेको अध्यक्ष पाटाले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण शुल्क बापतबाट मात्रै एकलाख बढी आम्दानी डाँडाले गरेको छ । डाँडामा घुम्न आउने पर्यटकको लागि पिकनिक स्पोट, खानेपानी र पकाउनको लागि आवश्यक साम्रगीको समेत व्यवस्थापन मिलाइएको छ । जसले गर्दा यहाँ घुम्न आउने पर्यटकले स्वर्गीय आनन्द प्राप्त गर्ने गरेका छन् ।


पाल्पाको काउलेडाँडा झिरुवास क्षेत्रको अम्रिसो बगान हेरेर यहाँ घुम्न आउने पर्यटकले इलाम र दार्जिलिङ्ग भन्दा कम नरहेको प्रतिक्रिया दिन्छन् । यहाँ शनिवारको समयमा विद्यालय, क्याम्पस तथा विभिन्न संघ समूहबाट समेत वनभोज र मनोरम दृष्य अवलोकनका लागि आउने गरेका छन् ।


२ सय २७ हेक्टर क्षेत्रफलमा विभिन्न १९ समूहमा विभाजन गरेर आयआर्जनका लागि सरकारले ४० वर्षका लागि कबुलियत गरेको छ, वन अधिकृत मोहन पौडेलले भन्नुभयो, त्यसको सबै आम्दानी स्थानीयले नै प्राप्त गर्ने भएकाले आर्थिक र पर्यटकीय विकासमा समेत कबुलियति वनले टेवा दिएको छ । २०६६ सालबाट यहाँ व्यवसायीक अम्रिसो खेती थालिएको प्रमुख पौडेलले बताउनुभयो ।

वनमारा (बनमासा)को झाँडीले घेरिएको रुखो जमिनलाई व्यवस्थापन गरेर वन कार्यालय पाल्पाको सहयोगमा आवद्ध सदस्यलाई वन व्यवस्थापन सम्बन्धी तालिम सहित आयमुलक कार्यक्रम संचालन गरिएको रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । उहाँले प्राकृतिक सुन्दरता, मगरी संस्कृतिको कारण झिरुवासको काउँले डाँडामा वन र प्राकृतिक पर्यटनको ठूलो सम्भावना रहेको समेत बताउनुभयो ।

अम्रिसोको फुलको कुचो, पातको घाँस, डाँठको दाउरा र जराको औषधी तथा अन्य विरुवाको रुपमा विक्री हुने भएकाले यसको खेतीमा स्थानीयहरु समेत हौसिएका छन् । स्थानीयले अम्रिसोको घारीभित्र तेजपत्ता, टिमुर, अदुवा, वेसार, कागती, जुनार, सुन्तला जस्ता विरुवाहरु समेत लगाएका छन् ।


अम्रिसोको घाँस सुख्यायाममा समेत हरियो रहने भएकाले पशुपालन व्यवसाय समेत फस्टाएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update