Erani Mahal
निस्दी अर्चलेको लेकडाँडा अम्रिसो डाँडामा परिणत हुँदै
700-copy

पाल्पा– पाल्पा जिल्लाको निस्दी गाउँपालिका ६ अर्चलेमा रहेको लेकडाँडाको अहिले पहिचान फेरिन थालेको छ । जताततै वानमासा (बनमारा) ले घेरिएको गौचरनका रुपमा रहेको डाँडोको पहिचान अब अम्रिसो, टिमुर र दालचिनीले फेरिएको हो ।


कबुलियति वन कार्यक्रमले लेकडाँडामा अम्रिसो, टिमुर, दालचिनी, ओखर, कागती लगायतका आयमूलक गैरकाष्ट वनपैदावारका बोटविरुजाको रोपण गरिएपछि यो डाँडाको नाम अब अम्रिसोडाँडा बन्न थालेको हो ।


लेक डाँडामा पाल्पा क्षेत्र नं. १ का सांसद दलबहादुर राना र डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा कबुलियति वन विकास कार्यक्रम लागु गरिएको छ । यस क्षेत्रमा विभिन्न समूहहरु गठन गरेर त्यसै खेर गएको नाँगो डाँडामा अहिले आय आर्जनका लागि अम्रिसो, दालचिनी, टिमुर, ओखर, कागती जस्ता आयमुलक वनस्पति लगाइएको छ ।


सांसद हुँदा विकास निर्माणको काममा केन्द्रीत हुनुपर्ने र आफ्नो क्षेत्रमा विकास गर्ने योजना अनुसार २०५१ सालमा सांसदहुँदा काउलेडाँडाबाट सुरु गरिएको सहयोग अहिले निस्दीको अर्चलेको लेकडाँडामा समेत सुरु गरिएको छ, सांसद दलबहादुर रानाले भन्नुभयो । पूर्वी क्षेत्रको भौगोलिक वनावट र अवस्थतिले हेर्दा यस क्षेत्रको विकासको लागि कबुलियती वन अन्तर्गतको विभिन्न कामहरु गरिएको बताउनुभयो ।


उहाँले स्थानीय जनताको जिविकोपार्जन र आर्थिक विकासमा आफूले गत वर्ष र यस वर्ष गरेर सांसद विकासकोषको १०÷१० लाख गरी २० लाख सहयोग गरेको बताउनुभयो । उहाँले हरियाली विकास, वातावरण संरक्षण र पर्यटन विकासमा यसले सहयोग गर्ने बताउनुभयो ।


अर्चलेका ४ वटा टोलमध्ये १५ वटा समूह आवद्ध रहेर सामुहिक रुपमा लेकडाँडा कृषि पशु वन व्यवसायीक उत्पादन समिति गठन गरेर लेकडाँडाको विकासमा लागेको अध्यक्ष कृष्ण बहादुर सुनारीले बताउनुभयो ।


लेकडाँडामा टिमुर ६ हजार, अम्रिसो ७५ हजार र ३६ हजार दालचिनी, माथिल्लो बेल्टमा टिमुर, त्यसपछि अम्रिसो र दालचिनी लगाएका छन् । हराभरा बनाउने उद्देश्यले यहाँका जनताहरु उत्साहित भएर लागेको उहाँले बताउनुभयो ।


खाली रहेको रुखो वनमासा झाडी क्षेत्रमा कबुलियति वन कार्यक्रम मार्फत स्थानीयलाई आय आर्जनको क्षेत्रमा लगाएको जिल्ला वन अधिकृत मोहन पौडेलले बताउनुभयो । उहाँले ५ वर्षभित्र सबै क्षेत्रमा वृक्षारोपणको काम सक्काएर पर्यटक समेत भित्र्याउने लक्ष्य रहेको उहाँको भनाई छ ।


लेकडाँडालाई पाल्पाको झिरुवासमा रहेको काउलेडाँडाको जस्तै गरी अम्रिसोको पाकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलेले बताउनुभयो । त्यसको लागि गाउँपालिका वडा, प्रदेश र संघ गरी सबैसँग सहकार्यको साथ काम गरिएको बताउनुभयो ।


लेकडाँडा क्षेत्र प्राकृतिक रुपले समेत उर्वर क्षेत्र हो, डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले भन्नुभयो, लेकडाँडामा कबुलियति वन कार्यक्रमले प्राकृतिक सुन्दरतासँगै वनपर्यटनको विकासमा समेत टेवा पुग्नेछ । स्थानीयहरुको आय आर्जन र बसाइसराईको रोकथाममा समेत यस कार्यक्रमले टेवा पुग्ने पोखरेलको भनाई छ ।


७५ हेक्टर क्षेत्रफलमा अहिले सम्म अम्रिसो, दालचिनी, टिमुर लगायका विरुवा लगाइएको छ, कबुलियति वन कार्यक्रममा प्राविधिक रामप्रकाश चौधरीले भन्नुभयो, यसलाई विस्तार गर्दै १ सय ५० हेक्टर क्षेत्रफलमा लगाउने योजना रहेको छ ।


अर्चलेका सातदोबाटो, अदमारा, नरिभञ्ज्याङ्ग र धोवलाका १७ समूहलाई ४० वर्षका लागि आयआर्जन गर्ने गरी सरकारले कबुलियतनामा गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update