Erani Mahal
पाल्पा प्रहरीद्वारा चाैमासिक कार्य विवरण सार्वजनिक
ppp

पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले चालु आवको चौमासिक अपराध र घटना विवरण सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर पाल्पा जिल्लामा पछिल्लो समयमा भइरहेका अपराधको अवस्था र प्रहरीले गरिरहेको क्रियाकलापका बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जिल्लामा कर्तव्य ज्यान सम्बन्धी घटना घटेको बताउनुभयो । उहाँले पछिल्लो समय दुर्घटना घटेपछि आत्महत्या सम्बन्धी घटनामा भने बृद्धि भईरहेको बताउनुभयो । पछिल्लो समय पाल्पामा अन्य घटनाको तुलनामा आत्महत्यासम्बन्धी घटना डरलाग्दो रुपमा बढेको छ उहाँले भन्नुभयो विशेष गरी १६ देखि २५ वर्ष उमेर समूहका युवाले आत्महत्या गरेको तथ्यांक छ ।

यस्तै सार्वजनिक अपराध सम्बन्धी मुद्दाको संख्या पनि बढ्दो छ । प्रहरीले लागुऔषधि नियन्त्रण गर्न, बालविबाह, बहुविवाह, मदिरा नियन्त्रण, दुर्घटना नियन्त्रण गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको जनाएको छ । अहिले प्रहरीले महिला हिंसा न्युनीकरण गर्न विभिन्न खालका कार्यक्रम गरेकोजनाएको छ ।

विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा प्रहरीले विपन्न समुदायका बालबालिकालाई केन्द्रीत गरी शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । अहिलेसम्म जिल्लाका दश वटा विद्यालयका तीन सय ७८ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो । प्रहरीले शैक्षिक सामग्रीसँगै प्रहरीसम्बन्धी जानकारी, सुरक्षा सम्बन्धी जानकारी र अन्य जनचेतनामुलक जानकारी समेत शैक्षिक सामग्रीमै वितरण गरेको छ । यसले सानासाना कलिला बालबालिकामा अपराध न्युनीकरण गर्ने र विभिन्न खालका चेतना अभिबृद्धि गर्न सहयोग पुग्ने प्रहरीले भनाई छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरूले रातिको समयमा ओभरलोड भएका ट्रक र जीप हिड्ने गरेको र प्रहरीले निगरानी नगरेको, स्कुल बसको गति अत्याधिक भएको, ट्रिपरको गति बढेको, सरकारी सवारीसाधन जथाभावी चलेकाे, टाइमकार्ड लागुभएनभएको चेकजाँच नभएको बताएका थिए ।

पत्रकारहरूले राखेको जिज्ञासामा प्रहरी प्रमुख जिसीले कमी कमजोरीलाई सच्याउँदै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update