Erani Mahal
महिनावारी असुल्छन् सीमाका घुमुवा प्रहरी
TheBetterIndia-11

बुटवल – सीमा क्षेत्रका घुमुवा प्रहरीले भारतबाट अवैध रुपमा सामान भित्र्याउने व्यापारी तथा एजेन्टहरुसंग महिनावारी रकम असुल्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा सादा पोशाकमा खटिने घुमुवा सशस्त्र प्रहरीले ती एजेन्ट तथा तस्करहरुसंग महिनावारी रकम लिएर उनीहरुलाई कारोवार गर्न छुट दिने गरेको तथ्य सार्वजनिक भएको छ ।


रुपन्देहीको २७ नं. गण भैरहवाका घुमुवा सशस्त्र प्रहरी तारा थापाले स्थानीय कुखुरा व्यापारी संसोद्धिन खानसंग गत मंसिर १२ गते मासिक १५ हजारका दरले लाइन मिलाउने गरी पहिलो किस्ता बुझेको खानले बताए । मंसिर १५ गते खानले कुखरा ल्याउँदा अर्का एक प्रहरीले बरामद गरिदिएपछि उनले संचारकर्मीसामु पोल खोलिदिएका हुन् । खानले भने, ‘नियमित काम गर भनेर पहिलो महिनाको १५ हजार सशस्त्रका पुलिस तारा थापालाई बुझाएको हुँ तर पैसा पनि लिने काम पनि पुरा गर्न नदिने गरेको छ ।’


खानले भैरहवाको एयरपोर्ट पछाडिबाट कुखुराको कारोबार गर्ने गरेको बताइन्छ । भारतमा प्रतिकिलो ९० रुपैयाँमा पाइने जिउँदो कुखुरा नेपालमा एक सय ७० रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।


तर यसबारेको जिज्ञासमा सशस्त्र प्रहरी बल २७ नं. गण भैरहवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त बोगटीले आफ्नो कार्यालयका प्रहरीबाट त्यस्तो काम नभएको दावी गरे । त्यस्तो गरेको पाइए विभागीय कारवाही हुने उनको भनाई छ ।


हाल सशस्त्र प्रहरीमा घुमुवा राख्ने व्यवस्था हटाइएको भएपनि कार्यालय प्रमुखहरुको चाहनामा राखिएका घुमुवा प्रहरीले यसरी ‘लाइन मिलाउने’ गरेका छन् । यस क्षेत्रमा आधा दर्जन सशस्त्र प्रहरीका घुमुवा कार्यरत रहेको प्रहरी स्रोतले नै जानकारी दिएको छ । कार्यालय प्रमुखहरुले तल्लो तहका पुराना प्रहरी अधिकारीबाट ‘च्यानल अनुसार’ काम गर्न सजिलो हुने भएकाले सरुवा पठाउन समेत नचाहने प्रहरी स्रोत बताउँछ । रुपन्देहीमा कार्यरत थापा, नेपाली, भण्डारी, अधिकारी, यादव, र अर्याल थरका प्रहरी जवान तथा हल्वदारहरुले यसरी ‘सेटिङमा काम गर्ने गरेका’ छन् ।


सरुवा भएका यी प्रहरी कर्मचारीलाई केन्द्रबाट विभागले समेत पत्र लेखेर नयाँ कार्य क्षेत्र पठाउन ताकेता गरिसकेको छ । तर तलका कार्यालय प्रमुखहरुको सहयोगमा उनीहरु कार्य क्षेत्र जान आनाकानी गरेको बताइन्छ ।
प्रहरी स्रोतका अनुसार रुपन्देहीको मर्चवार, डण्डा, सेज क्षेत्र, लुम्बिनी, एयरपोर्ट पछाडि, करौता क्षेत्र, गल्लामण्डी, अमवा नाका, सेमरपानी, भगवानपुर, बुचीवर्मा, कालिदह, मुग्ला लगायतका सीमा क्षेत्रमा यी सादा पोशाकका प्रहरीहरु परिचालित छन् ।


यी नाकाबाट कपडा, खसीबोका, कुखुरा, भैसी, मटर, केराउ, मलखाद जस्ता सामग्री नेपाल भित्रिने र गाइगोरु, मरिच, सुपारी आदी भारत निकासी हुने गरेको बताइन्छ । सीमा क्षेत्रबाट सामान भित्र्याउने तस्करहरुले यी प्रहरीलाई दैनिक तथा मासिक रुपमा रकम दिने गरेको स्रोतले बतायो ।
एसपी बोगटीले भने सशस्त्र बलमा गठित सुरक्षा महाशाखाले मात्र सुराकी गर्ने गरेको दाबी गरे । महाशाखाका प्रहरीलाई आफूले नचिनेको उनको भनाई छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update