X

‘बरिष्ठ पत्रकार कसजु बहुप्रतिभाषाली व्यक्तित्व’

रानीमहल संवाददाता || १८ मंसिर २०७६,बुधबार १९:५७

पाल्पा – दिवंगत बरिष्ठ पत्रकार एवं बालसाहित्यकार विनयकुमार कसजु बहुप्रतिभाषाली व्यक्तित्व रहेको तानसेनमा बुधबार आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । साहित्य, पत्रकारिता र समाजिक सेवामा कसजुको विशेष दख्खल रहेको सहभागीहरुले बताएका हुन् ।

तानसेन नगरपालिकाद्वारा गठित पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै बरिष्ठ पत्रकार मेघराज शर्माले कसजले पत्रकारिता र साहित्यिक क्षेत्रमा दिनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

पाल्पामा ‘श्रीनर’, ‘सत्य साप्ताहिक’ र ‘गाउँले देउराली’ साप्ताहिक पत्रिकाको माध्यमबाट कसजुले समाजलाई सुसूचित गर्ने कार्य गरेको बताउनुभयो । कसजुले पत्रकारिता क्षेत्रमा मात्र होइन, जनतालाई सूचनाको हक प्रदान गर्न राष्ट्रिय सूचना आयोगमा आयुक्त भएर महत्वपूर्ण कार्य गर्नुभयाे, शर्माले भन्नुभयाे ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कसजुले आम पाल्पा र तानसेनबासीका लागि विशेष योगदान गरेको बताउनुभयो । पाल्पाको पर्यटन विकास र तानसेनलाई चिनाउने कार्यमा कसजुको भूमिका बिर्सनै नसकिने शाहीकाे भनाइ छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले दिवंगत कसजुले पाल्पामै पहिलो पटक प्रविधि भित्र्याएर प्रयोग गरेकाे र पत्रकारितामा समेत नयाँ अभ्यासको थालनी गरेको बताउनुभयो । लेखक तथा जिविसका पूर्वसभापति झपेन्द्रबहादुर जिसीले जनतालाई सुसूचित गर्न गाउँमा र जनताको बीचमा पुग्नुपर्छ त्यसले मात्र समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता कसजूको थियो भन्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले पाल्पा र पाल्पाको पर्यटन विकासमा कसजुले आफ्नो सिर्जनामार्फत चिनाउने र प्रचार गर्ने काम गरेको स्मरण गर्नुभयो । शर्माले आफू र कसजु लगायत मिलेर अंग्रेजी भाषाको प्रचार सामग्री समेत प्रकाशन गरेको बताउनुभयो ।

गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले आफूसँगै क्याम्पस अध्ययन् गर्नुभएका कसजुले समाज सुधार, पत्रकारिता र उत्प्रेरणा दिने कार्यमा विशेष योगदान गरेको चर्चा गर्नुभयो ।
कसजुको उच्च रक्तचाप र निमोनियाका कारण गत मंसिर १० गते काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । उहाँका दुई सय भन्दा बढी बाल साहित्यका पुस्तक प्रकाशित छन् । पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार समितिले तानसेनमा शोकसभामा विभिन्न क्षेत्रका व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे । श्रद्धाञ्जलीसभा बरिष्ठ पत्रकार मेघराज शर्माको अध्यक्षता र नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष गोविन्द भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys