Erani Mahal
बृद्धभत्ता : बुढेसकालकाे साहारा र खुसी बन्दैं
purkhola

कृष्ण दर्नाल, पाल्पा - बूढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । काम गर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ ।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षाभत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ७५ वर्षीय शिवकुमारी थापालाई बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षाभत्ताले सहयोग गरेको छ । ‘सानोतिना खर्च गर्नका लागि छोराबुहारीसँग पैसा माग्नुपर्दैन, बूढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन’, थापाले भन्नुभयाे ।

फाइल तस्विर ।

उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा थापा खुसी हुनुहुन्छ। मासिक दुई हजार सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था छ । थप एक हजार स्वास्थ्योपचार खर्च गरी मासिक तीन हजार भत्ता पाउँदा थापाको अनुहारमा खुशी देखिन्छ । ‘सरकारले हामीजस्ता बूढाबूढीलाई न्याय गरेको छ, अझै राम्रो काम गर्नुपर्छ ।

साउनदेखि वृद्धभत्ता बढाएकोमा खुशी लागेको छ’, थापाले थप्नुभयाे । रिब्दीकोट गाउँपालिका–४ खस्यौलीका ७१ वर्षीया शोभालक्ष्मी ढकाल वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । दुई छोरा र बुहारीसमेत रहेका ढकालले पोसिलो आधार र औषधि उपचारमा नै खर्च हुने सुनाउनुभयाे ।

फाइल तस्विर ।

वृद्धभत्ता बुझ्न आउँदा पुराना साथीसँग भेट हुन्छ । एकअर्काका दुःख सुख आदानप्रदान हुन्छ । हामीलाई पुराना मान्छेका पुरानै कुरा भनेझैं बूढापाका भेट हुँदा खुशी लाग्ने ढकालको भनाई थियो । रिब्दीकेट गाउँपालिका डुम्रेखर्ककी शान्ति रुचाल अहिले घरमा एक्लै बस्नुहुन्छ । एउटा सानो घरमा दिनरात एक्लै बिताउनुपर्छ । साँझ बिहान एक्लै खाना पकाउनुपर्छ । एक्लै बसेका वृद्धालाई सरकारी भत्ताले ठूलो गुन लगाएको छ ।

रुचालले चार महिनामा आठ हजार सामाजिक सुरक्षाभत्ता बुझेर आफ्नै दैनिक खर्च चलाउनुहुन्छ । सामाजिक सुरक्षाभत्ताले घरमा साँझ बिहान चुलोमा आगो बाल्न सहयोग जुटेको छ । नुन, तेल, चामल, दालसमेत किन्न सहयोग पुगेको छ । एकल महिला तथा सन्तान गुमाएका आमाहरुका लागि सरकारी भत्ताले खुशी मात्रै ल्याएको छैन कि जीवनभर बाँच्न सहयोग पु¥याएको छ ।

खस्यौलीका तुल्सीप्रसाद नेपाल लौराको साहारामा हिँड्डुल गर्नुहुन्छ । शरीर कमजोर बनेको छ । ७४ वर्षीय नेपाल चार महिनामा १२ हजार सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । वृद्धवृद्धालाई मात्र होइन, सरकारले एकल महिलाका लागि मासिक दुई हजार भत्ता समेत दिएको छ ।

सामाजिक सुरक्षाभत्ता वितरणले परिवारमा एक्लै जीवन जिउने, वृद्ध अवस्थामा औषधि उपचार, खानपिन तथा चाडपर्व राम्रोसँग मनाउन पाइएको प्रतिक्रिया वृद्धबृद्धाको रहेको पाइन्छ । रिब्दीकोट गाउँपालिकाका अनुसार गत आवमा चार करोड ६१ लाख ६५ हजार ६ सय ६९ को बजेट सामाजिक सुरक्षाभत्ता शीर्षकमा प्राप्त भएको थियो ।

जसमध्ये सात लाख २४ हजार ८९० फिर्ता भएको गाउँपालिकाको भनाइ छ । विसं २०५१ मा मोहनमन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको थियो । वतर्मान केपी शर्मा वली नेतृत्वकाे सरकारले बृद्धभत्तासहित अन्य सामाजिक सुरक्षा भत्ता बढाएपछि उनीहरूमा अझैँ खुसी थपिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update